गृहमन्त्रीको भूमिका शंकास्पद देखियो, तत्काल राजीनामा दिनुपर्छ : प्रभु साह

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fce3ddeb9ab.jfif

वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

जेन–जी आन्दोलनमा युवाहरूको बलिदानीका जगमा बनेको सरकारले अहिलेसम्म युवाहरुलाई छाती र टाउकोमा ताकि–ताकि गोली हान्ने हत्याराहरू, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई पक्राउ गर्न नसकेको भन्दै साहले गृहमन्त्री अर्यालको राजीनामा मागेका हुन् । गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका हत्याराहरूलाई पक्राउ गरी कानूनी कारबाहीमा ल्याउनुको लागि कुनै पहलकदमी नलिएको साहको आरोप छ ।

शनिबार पर्साको पर्सागढीमा दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भदौ २३ गते युवाहरुमाथि नरसंहार गरियो, ती युवाको छाती र टाउकोमा ताकि ताकि गोली हानिएको छ, अहिलेसम्म हत्याराहरुलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब काम छैन, गृहमन्त्री नै लुरे परे ।’ कुनै बेला एमालेको झोले कार्यकर्ता भएकै कारण अहिलेका गृहमन्त्रीले युवाहरुको हत्या गर्नेलाई हालसम्म कानूनी कारबाही गर्न नसकेको उनको आरोप छ ।

आजपा अध्यक्ष साहले भने,‘ यो सरकार बनेको आज यतिका दिन बितिसक्यो, तर युवाहरुको हत्यारालाई कारबाही गर्न सकेको छैन, उल्टै हत्याराहरुको बलमा प्रहरी प्रशासनले आन्दोलनकारी युवाहरुमाथि छानिछानि जाहेरी दर्ता गरिएको छ, बालेन शाह र सुदन गुरुङविरुद्धको एमालेका युवाहरुले दिएको जाहेरी किन दर्ता गरियो ? यो सरकारको गतिविधि आफैँमा शंकास्पद छ ।’ 

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालहरुले जेन–जी पुस्ताको भावनामाथि गम्भीर खेलवाड गरेको साहको आरोप छ । जेनजी युवाका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीहरुलाई सरकारले एउटै तराजुमा राखेर कारबाही नगरी मुद्दा मुलतबीमा राख्नु दुर्भाग्यपूर्ण भएको साहले बताए । 

जेन–जीहरुको आन्दोलन नै अहिलेको सरकारमा भएकाहरुले सुनियोजित तवरले अपहरण गरेको भन्दै अब यिनीहरुलाई कुर्सीमा बस्ने नैतिकतासमेत नभएको उनको दाबी छ । अहिलेको सरकार युवाहरुको हत्यामा प्रत्यक्ष संलग्न भएकाहरुको सेवामा खटिएको भन्दै युवाहरुको हत्यारालाई कारबाही नगरे जनता आफैले अब कारबाही थाल्ने पनि उनले चेतावनी दिए । 

उनले यो सरकारको हुती र नैतिक बल नदेखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै दुत्कार्ने काम गरेको जिकिर गरे । कारबाहीको दायरामा आउनुपर्नेहरुले नै यो सरकारलाई टेर्दिनँ र चुनावमा पनि भाग लिन्नँ भनेर दिनदिनै चूनौति दिनुले पनि यो सरकार कति शक्तिशाली छ भनेर प्रष्ट हुने उनको भनाई छ ।
  


Facebook Comments