पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृ*त्यु

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

काठमाडौं । पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । उनको उपचारका लागि सर्पदंश केन्द्र चारआली लैजाने क्रममा मृत्यु भएको हो । 

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका—४ क्याम्पसचोक बस्ने ४३ वर्षीय एक महिलाको आगोले जलेर मृत्यु भएको छ । लक्ष्मी पूजाको दिन बालिएको दियोमा पुनः तेल हाल्ने क्रममा अचानक कपडामा आगो सल्किँदा घाइते भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका—१ सङ्गमटोलस्थित एक घरमा ग्यास चुहावट भई अचानक आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उनको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्तपालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ । पछिल्ला २४ घण्टामा भएका १६ वटा विपद्जन्य घटना भएका र विभिन्न ठाउँमा तीन जना घाइते भएका पनि प्राधिकरणले आज जारी बुलेटिनमा उल्लेख छ । 


Facebook Comments