राष्ट्रिय सभाको बैठक कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । जेनजी आन्दोलनकारीले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आगजनी गरी क्षति पुर्याएपछि राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य थालिएको छ ।
सङ्घीय संसद भवन ’खण्डहर’ भएको र सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन पनि तयार नभएकाले कृषि समितिको हललाई बढी उपयुक्त मानिएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार, नयाँ संसद भवन नबनेसम्मका लागि न्यून खर्चमा कृषि समितिको हललाई बैठक सञ्चालन गर्न मिल्ने गरी भौतिक तथा प्राविधिक पूर्वाधार तयार पार्ने विषयमा छलफल भइरहेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भए पनि ५९ सदस्यीय स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल स्वदेश फर्किएपछि यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग थप छलफल हुने बताइएको छ ।
Facebook Comments