जेन–जी आन्दोलनमा प्रहरी ह*त्या प्रकरण : थप ५ जना पक्राउ
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ ।
गोरखाका सोम गुरुङ, तनहुँका राजीव गुरुङ र युनिक श्रेष्ठलाई कात्तिक ३ गते पक्राउ गरिएको हो । सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगरलाई भने असार ३१ गतेदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकाहरूले कुटपिट गरेर दुई प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि नै ४ जना आरोपी युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होम प्रसाद पौडेल र टिकाराम बिक पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
क्याप्छाकी र थिङले जवान उत्तम थापाको हत्या गरेको, पौडेल र विकले असई मिलन रायको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिनेछ ।
पछिल्लो पटक ५ जना पक्राउ भएसँगै यस हत्या प्रकरणमा पक्राउ परेका÷कारागार चलान भएका कुल आरोपीको सङ्ख्या ९ पुगेको छ ।
Facebook Comments