जाँचबुझ आयोगका अध्यक्ष भन्छन्– भ्रष्टाचारी भन्दैमा घर ज*लाउन पाइँदैन, दोषीमाथि कार्बाही हुनुपर्छ

User Image दिक्षान्स खड्का | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/6900df6f1da69.jfif

हेटौंडा । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको छानबिन गर्ने अख्तियारी पाएको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारी तथा निजी संरचना जलाउनेलाई कार्बाही गर्नुपर्नेमा जोड दिएका छन् । 

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपराध गर्नेहरूलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन। अपराधी हो भनेर हामी आफैंले काट्न–मार्न पनि पाइँदैन । त्यसका लागि कानुन छ । कानुनबमोजिम कारबाही हुनुपर्छ,’ उनले भने । 

उनले आन्दोलनका क्रममा भएका फौजदारी मुद्दाका काम प्रहरीले गर्ने भन्दै बाटो खुल्ला रहेको बताए । उनले प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेको र यसमा कुनै ढिलाइ नगर्न आग्रह गरे ।

‘२३ गतेको घटना एउटा आन्दोलनको क्रममा भयो । त्यो छुट्टै घटना हो । तर २४ गते भएको आगजनी, लुटपाट र डकैतीका घटना फौजदारी अपराध हो । यसमा कुनै विवाद छैन ।’ उनले भने, ‘यो घटना सबैले देखेको र आयोगले सोहीअनुसार छानबिन गरिरहेको छ । फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो। हामीले घटनाको समग्र छानबिन गरी दोषीमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गर्ने हो ।’

उनले घटनासँग सम्बन्धित प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न पनि सबैलाई अपिल गरे । साथै प्रहरीको मनोबल बढाउने वातावरण बनाउन सबैले समर्थन गर्नुपर्ने बताए । 

आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको अध्यक्ष कार्कीको भनाई छ । उक्त समस्या समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए ।  


Facebook Comments