संसद् भवन आगजनीमा अखिल क्रान्तिकारीकाे संलग्नता, ४ जना पक्राउ
मेयरसाप डेस्क
|
७ घण्टा अगाडि
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि गर्दै संसद् भवनमा आगजनी गर्ने कार्यमा बानेश्वर बहुमुखी क्याम्पसका स्ववियु सदस्य सुजन वाइबाकाे समूह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बानेश्वर क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट स्ववियु सदस्य निर्वाचित भएका २५ वर्षीय वाइबाको समूहले भदौ २४ गते पेट्रोल बोकेर संसद् भवन, प्रहरी वृत्त नयाँ बानेश्वर र प्रभाग कोटेश्वरमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
काठमाडौँका एसएसपी रमेश थापाका अनुसार, वाइबा समूहले प्रहरीका चार नाल हतियार पनि लुटेको पाइएको छ । हतियार लुट र आगजनीको आरोपमा वाइबा सहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अन्यमा २० वर्षीय विकाश अग्री, २४ वर्षीय युवराज भण्डारी र इनड्राइभ चालक २५ वर्षीय अनिल बुढा रहेका छन् ।
आरोपीहरूले लुटेका हतियार नेपाली सेनालाई बुझाएको बयान दिएका छन् । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले आपराधिक उपद्रव गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
Facebook Comments