अमेरिकाको चेतावनीको बाबजुद रूसद्वारा फेरि आणविक क्षेप्यास्त्र परीक्षण

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/missile.jpg

मस्को । रुसले केही दिनभित्रै दोस्रो पटक नयाँ आणविक प्रणालीको परीक्षण गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई अवज्ञा गर्दै रूसले आइतबार अर्को अत्याधुनिक आणविक क्षमताको ‘बुरेभेस्टनिक’ क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको हो । 

राष्ट्रपति ट्रम्पले त्यो अभ्यास ‘उपयुक्त’ नभएको बताएका छन् । युक्रेनमा घाइते भएका रुसी सैनिकको उपचारमा संलग्न सैनिक अस्पतालको भ्रमण गर्ने क्रममा बुधबार पुटिनले भने, “हिजो भविष्यको अर्को सम्भावित आणविक प्रणालीको अर्को परीक्षण गरिएको छ । मानवरहित पानीमुनि मार हान्न मिल्ने उपकरण ‘पोसाइडन’ मा आणविक ऊर्जा एकाइ पनि जडान गरिएको छ ।”

रुसी नेताले भने, “टोरपिडो ड्रोन रोक्ने कुनै उपाय छैन । यो परम्परागत पनडुब्बीहरूभन्दा उच्च गतिमा यात्रा गर्न सक्छ र विश्वको कुनै पनि महाद्वीपमा पुग्न सक्छ।” नेता पुटिनले भने, “गति र गहिराइमा डुब्ने कार्य पोसाइडनको बराबरी कुनै पनि देशले गर्न सक्दैन र निकट भविष्यमा त्यस्तो हुने सम्भावना पनि छैन।”

रूसी सैन्य औद्योगिक क्षेत्रको एक स्रोतका अनुसार यो उपकरण एक किलोमिटर भन्दा बढीको गहिराइमा काम गर्न सक्दछ र समुद्रमा ७० सम्मको गतिमा यात्रा गर्न सक्दछ र यसलाई त्यहाँ पत्ता लगाउन सकिँदैन। सन् २०१८ मा पहिलो पटक परीक्षण गरिएको यो उपकरणले दुई मेगाटनसम्मको परमाणु हतियार बोक्न सक्ने क्षमता रहेको स्रोतले बतायो ।

आइतबारको क्रुज मिसाइल परीक्षणपछि ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भने, “युक्रेनमा युद्ध समाप्त गर्नु पर्छ। एक हप्ता लाग्ने युद्धको चौथो वर्ष सुरु भएको छ । क्षेप्यास्त्र परीक्षण होइन युद्ध अन्त्य गर्नुपर्छ।” 

अमेरिकी राष्ट्रपतिलेरुसी नेताले द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न अनिच्छुक देखिएको भन्दै गत हप्ता बुडापेस्टमा पुटिनसँग हुने भनिएको शिखर सम्मेलनलाई  रद्द गरिएको बताएका थिए । 

राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केदेखि नै सम्झौता गर्ने प्रयास गरिरहनुभएको छ। तर वार्तामा कुनै प्रगति भएको छैन । उनले युद्धविरामको लागि धेरै आह्वानहरू अस्वीकार गरेका पुटिनसँग बढ्दो निराशा देखाएका छन् । 

वासिङटनले गत हप्ता रुसका दुई ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो र युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँगको वार्ता ‘कहीँ पनि नपुग्ने’ गुनासो गरेको थियो । सन् २०१८ मा पश्चिमा विरोधी भाषणका क्रममा पुटिनले पहिलो पटक रुसले बुरेभेस्टनिक र पोसिडोनको विकास गरेको घोषणा गरेका थिए । 


Facebook Comments