जाँचबुझ आयोगका सदस्यलाई पूर्वमुख्यमन्त्रीले ‘यू आर गेट लस्ट’ भनेपछि...

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/red-and-yellow-bold-vibrant-exposed-truth-youtube-thumbnail.png

कैलाली ।  जेनजी आन्दोलनका क्रममा भएका क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ ।

भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित सर्वदलीय र सर्वपक्षीय छलफल कार्यक्रममा उनीहरूबीच भनाभन भएको हो । दिउँसो करिब २ बजेतिर कार्यक्रम सुरु हुनै लाग्दा पूर्व मुख्यमन्त्री रावल कार्यक्रम स्थलमा पुगेका थिए । 

त्यसपश्चात रावलले जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै भण्डारीसँग आक्रोशित हुन्छन् ।  केहीबेर भण्डारी र रावलको अंग्रेजीमै नोकझोक हुन्छ ।

सञ्जालमा सार्वजनिक भएको भिडियोमा रावलले जंगिदै भण्डारीलाई ‘यू आर गेट लस्ट’ भनेको सुनिन्छ । त्यसपछि भण्डारीले भन्छन्, ‘ह्वाट डु यू मिन बाइ लस्ट ?’ । रावल अगाडि बढ्दै जवाफ फर्काउँछन्, आई मिन, आई नो ह्वाट आर यू डोइङ ? । उनी त्यतिकैमा रोक्दैनन् । फेरि थप्छन्, अपराधीहरूलाई लुकाएर, घर जलाएर हिँड्ने ?

भण्डारीले पनि प्रतिप्रश्न गर्दै भन्छन् मैले जलाएको हो तपाईंको घर ? रावलले जवाफ फर्काउँछन्, ‘तपाईंहरू पनि हो । बढ्ता कुरा गर्ने ? मेरा बालबच्चाहरूको हालत देख्नुभएको छ ? अहिले नाटक देखाउने आएको ? मेरो पार्टी कार्यालय भवन आगो लगाउँदा तपाईं तमासा देखाउन आएको यहाँ ? अहिले तपाईं राज्यको तर्फबाट नाटक देखाउन आउने ? तपाईंहरू अपराधी हो । यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आएको हो तपाईंहरू । याद गर्नुहोला, मान्छेको फेला पर्नुभएको छैन तपाईंहरू । म क्लियर मान्छे हुँ । राज्यको कोषको दुरुपयोग गरेर आउनुभएको छ ।

अन्तिममा भण्डारीले यहाँ सुन्नुस् भनेर केही कुरा राख्न खोज्छन् तर रावल केही सुन्दिनँ भनेर अगाडि बढछन् । रावल नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् । २४ गते उनको घरमा पनि तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।   


Facebook Comments