यौन व्यवसायमा लागेका महिलाहरु भन्छन्– ‘यो हाम्रो रोजगारी हो, अपराध होइन’

एचआईभी पोजिटिभ भएर पनि यौन पेशामा सक्रिय

User Image दिक्षान्स खड्का | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/xx.JPG

हेटौंडा ।  पश्चिम रोल्पाकी ३३ वर्षीया कुमारी (नाम परिवर्तन)ले आफ्नो जीवन कहिल्यै यति कठोर मोडमा आइपुग्छ भन्ने सायद कल्पना पनि गरेकी थिइनन् । स्कुल पढ्दै प्रेममा परिन्, भागेर विवाह गरिन्। तर विवाहपछि परिवारले अस्वीकार गर्‍यो। श्रीमानसँग पनि सम्बन्ध टिकेन। पेटमा उनको प्रेमको चिनो—बच्चा हुर्किँदै थियो। जब सुत्केरी व्यथा लाग्यो, श्रीमानले उनलाई अस्पतालमा छोडेर भागे। त्यही दिन उनले बच्चा जन्माइन् ।  

तर त्यो बच्चालाई कसरी हुर्काउने वा के गर्ने उनी अलमलमा परिन् । सहयोग गर्ने मान्छे कोही थिएनन् ।  उनलाई एक जना मान्छेले ५० हजारमा बच्चा दिन आग्रह गरे । तर उनी मानिन् । कुमारी भन्छिन्, आमाको माया हो, आफ्नो सन्तान बेचेको पीडा म कसरी सहन सकुँला र ? अनि उनले बच्चालाई बालआश्रममा लगेर छोड्ने निधो गरिन् ।

उनले एक बालआश्रममा लगेर बच्चाको जिम्मा लगाइन् । उनको जीवनको वज्रपात यतिमा रोकिँदैन । त्यो दिनदेखि उनको जीवनले अन्धकार र विवशताको मोड लिन्छ । एकातिर बच्चा छोड्नु परेको पीडा छ भने अर्कोतिर श्रीमानको अत्तोपत्तो छैन । घर न घाटकी बनेकी उनले काम खोज्दा कहीँ पाइनन्। अन्ततः उनी पेट पाल्नकै लागि शरीर बेच्न बाध्य हुन्छिन् । उनी भन्छिन् –“आफैंलाई पनि घिन लाग्छ‘ तर यो पनि जिन्दगी हो”

कुमारी अहिले हेटौंडा–१० स्थित बसपार्क क्षेत्रमा बस्छिन्। रात पर्नासाथ उनी र उनी  जस्ता थुप्रै महिलाहरू ग्राहकको पर्खाइमा हुन्छन्। “कहिलेकाहीँ ऐनामा हेर्दा आफैंलाई घिन लाग्छ,” उनी भन्छिन्, “तर के गरूँ ? पेट र पीडाले अरू विकल्प छोडेन।” उनी भन्छिन्, “धेरैले विवाह गर्ने प्रस्ताव गर्छन्, तर अब मसँग त्यस्तो विश्वास बाँकी छैन। म भत्किसकेकी छु। कहिलेकाहीँ मर्नु नै सजिलो लाग्छ।” 

“धनीमानीहरू कार लिएर आउँछन्, रमाइलो गर्छन्। जतिबेला म हाँस्न खोज्छु, त्यही बेला भित्रको पीडा बाहिर आउँछ,” उनी भन्छिन्। दशैंमा सबैको निधारमा रातो टीका देख्दा आँसु झरेको कुमारी सुनाउँछिन्। “मैले पनि यो निधारमा कहिले टीका लगाउला ?” उनी मन्द मुस्कानसहित भन्छिन्।

“कतिपय पुरुषहरू अस्थायी साधन प्रयोग गर्न मान्दैनन्,” उनी भन्छिन्, “कतिले जबर्जस्ती गर्छन्। कहिलेकाहीँ त मलाई एचआईभी भयो कि भनेर डर पनि लाग्छ।” कुमारी एक प्रतिनिधिमुलक पात्र मात्र हुन् ।  कुमारी जस्ता धेरै यौनकर्मीहरू अहिले स्वास्थ्य जोखिममा छन्। 

हेटौंडा बसपार्कका गल्लीहरूमा यस्ता कैयौं “कुमारीहरू” छन् — जो गरिबी र बाध्यताले यौन व्यवसायमा लागेका छन्। जसको जीवन रोजाइले भन्दा बाध्यताले चल्ने गरेको छ ।  

महिला मुक्ति संघकी अध्यक्ष उर्मिला रिमालका अनुसार, संघसँग अहिले ३ सयभन्दा बढी महिला सदस्य छन्। संस्थामा जोडिएका मध्ये ६० प्रतिशत महिला गरिबी र पारिवारिक कारणले यो पेसामा आएका छन् भने ४० प्रतिशत आफ्नै इच्छाले ।

संस्थाले कण्डम वितरणदेखि लिएर एचआईभी तथा यौनजन्य रोगको निःशुल्क उपचारसम्मका सेवा प्रदान गर्दै आएको छ। “हाल १५ जना सदस्य एचआईभी पोजिटिभ छन्, तर नियमित औषधि सेवन गर्दै पेशामा सक्रिय छन्,” रिमाल बताउँछिन्।

उनका अनुसार धेरै ग्राहकले जबर्जस्ती बिना कण्डम यौन सम्पर्क गर्न खोज्ने, पारिश्रमिक नदिने वा हिंसा गर्ने गुनासो आउँछ। कतिपय महिलाले पेशा छोड्न खोज्दा पनि कार्यालय र फ्याक्ट्रीमा गएर काम माग्दा यौन प्रस्ताव र दुर्व्यवहारको सामना गर्नुपरेको छ ।

रिमाल भन्छिन्, “यो हाम्रो रोजगारी हो, अपराध होइन। सरकारले वैकल्पिक रोजगारी देओस्, नत्र कानुनी मान्यता दिएर खुलेर बाँच्न अधिकार देओस्।”

हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा भन्छन्, “बसपार्क क्षेत्रमा भएको यौन व्यवसाय वडाको नियन्त्रणबाहिर गइसकेको छ। रातभर खुला रहने खाजाघर र दोहोरी साँझका कारण समस्या बढेको हो।”

उनका अनुसार, वडाले नियन्त्रणका लागि पहल गरिरहे पनि यो सामूहिक प्रयासबिना सम्भव छैन। “दुःखले यौन व्यवसायमा लागेका महिला छन् भने म रोजगारको व्यवस्था गर्न तयार छु। तर अरु जिल्लाबाट आएर यहाँ बसपार्कमा यौन व्यवसाय गर्ने अभ्यासलाई रोक्नैपर्छ,” उनले भने।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बसपार्क क्षेत्रमा यौन व्यवसायसँगै अन्य विकृति पनि रहेको बताए। “यहाँ लागूऔषध, मादक पदार्थ सेवनलगायतका समस्या छन्। यौन व्यवसाय मात्र होइन, सम्पूर्ण विकृतिबाट यो क्षेत्रलाई मुक्त गर्न सरोकारवाला निकायसँग छलफल भइरहेको छ,” उनले भने।

अधिवक्ता मदन कुमार दाहालका अनुसार नेपालमा यौन व्यवसायलाई हालसम्म कानूनी मान्यता प्राप्त छैन। मुलुकी अपराध संहिता २०७४ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार आर्थिक लेनदेनसहित यौन सेवा दिन वा लिनु गैरकानुनी छ। यौन व्यवसायलाई मान्यता दिने गरी हालसम्म नेपालमा कुनै कानुन बनेको छैन ।


Facebook Comments