एकीकृत समाजवादीसँगको एकता एक साताभित्र टुंगिन्छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_2.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी सँगको पार्टी एकता प्रक्रिया एक साताभित्रै टुंगो बताएका छन् ।

एकीकृत समाजवादीसँगको एकताको विषयमा छलफल गर्न शनिबार पेरिसडाँडामा माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो ।

बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूले एकता प्रक्रिया कहिलेसम्म सकिन्छ भनी सोधेको प्रश्नमा प्रचण्डले ‘हप्ता दिन कट्दैन’ भन्दै सटिक जवाफ दिएका थिए ।

शुक्रबार मात्रै एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो । यो निर्णयपछि दुवै पार्टीबीच एकताको मार्ग खुलेको हो ।

एकीकृत समाजवादीको एकता गर्ने निर्णयलगत्तै माओवादी केन्द्रले एकताका वैचारिक र सांगठानिक पाटोबारे पार्टीको आधिकारिक धारणा बनाउन छलफल तीव्र पारेको छ । शनिबारको सचिवालय बैठक सोही छलफलको निरन्तरता थियो ।

दुई पार्टीबीचको एकताले नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा महत्त्वपूर्ण मोड ल्याउने आकलन गरिएको छ । प्रचण्डको घोषणाले पनि लामो समयदेखि चर्चामा रहेको वाम एकता प्रक्रियाले अब छिट्टै मूर्तरूप लिने बताइएको छ ।


Facebook Comments