माओवादीसहित ८ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ राजनीतिक दलहरुले पार्टी एकता गर्ने सहमति गरेका छन् । आइतबार सार्वजनिक गरिएको १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
सहभागी दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताएका छन् ।
सहमति अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद–लेनिनवाद हुनेछ । तत्कालीन कार्यनीति पूँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा र समाजवादको आधार तयार गर्न केन्द्रित हुनेछ ।
एकता प्रक्रियाअनुसार आगामी कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने छ । उक्त सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र, अन्तरिम विधान र केन्द्रीय समिति गठन गरिने बताइएको छ । त्यसपछि आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।

Facebook Comments