अफगानिस्तानमा भूकम्पः २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/bhu.PNG

एजेन्सी । उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।  

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको बताए । 

अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ ।  

प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलका संवाददाताहरूले पनि कम्पन महसुस गरेको बताएका छन् ।

पाहाडी अफगानिस्तानमा कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा  पुर्याएकाले अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको जनाइएको छ ।  

यो तालिबान सरकारका लागि पछिल्लो प्राकृतिक प्रकोप हो, जसले सन् २०२१ मा अफगानिस्तान कब्जा गरेदेखि तीनवटा ठूला घातक भूकम्पहरूको सामना गरेको छ ।

अगस्टमा, देशको पूर्वमा ६.०–म्याग्निच्युडको भूकम्पले पाहाडी गाउँहरू नष्ट गर्नुका साथै  दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो ।  

सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा ठुलो भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त पारेको थियो ।  

संयुक्त राष्ट्र संघ र सहायता एजेन्सीहरूले अफगानीस्तानमा भोकमरी बढिरहेको चेतावनी दिएका छन् । अफगानिस्तान खडेरी, बैङ्किङ क्षेत्रमा आर्थिक प्रतिबन्ध र छिमेकी इरान र पाकिस्तानबाट लाखौं अफगान नागरिकहरू निरन्तर स्वदेश फर्कका कारणले मानवीय सङ्कटबाट ग्रस्त भएको जनाइएको छ । 


Facebook Comments