मेयर लामामाथि बलात्कारको धम्की दिनेलाई कार्बाही गर्न वडाध्यक्ष सिग्देलको माग
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले मेयर मीनाकुमारी लामामाथि सामाजिक सञ्जालमार्फत गरिएको धम्कीपूर्ण टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्।
वडा अध्यक्ष सिग्देलले मेयर लामामाथि चरित्रहत्या गर्न खोज्ने खालका अभिव्यक्तिहरूले व्यक्तिगत सुरक्षामाथि मात्र प्रश्न उठाएको नभई स्थानीय सरकार र समाजमा समेत असुरक्षाको वातावरण सिर्जना गरेको बताएका छन् ।
“हामी जनप्रतिनिधिहरू उपमहानगरपालिका र वडा कार्यालयमा दिनरात जनताको सेवामा समर्पित छौँ। कठिन परिस्थितिमा पनि जनताको समस्या समाधानमा खटिएका छौँ,” सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन्, “तर पछिल्ला दिनमा जनप्रतिनिधिहरूले पनि असुरक्षा महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ, जुन दुर्भाग्यपूर्ण कुरा हो।”
उनले यस्ता धम्कीपूर्ण तथा अपराधी मनोवृत्तिका कार्यहरूको घोर भर्त्सना गर्दै सम्बन्धित व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्तिहरूले जनप्रतिनिधि मात्र नभई समग्र समाजकै सुरक्षामाथि प्रश्न उठाएको भन्दै उनले सबै नागरिकलाई संयमित र जिम्मेवार बनेर अभिव्यक्ति दिने आग्रह पनि गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर लामाले आफूमाथि फेसबुक र ह्वाटस्यापमार्फत बलात्कारको धम्की आएको बताएकी थिइन् ।
Facebook Comments