नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण, दक्ष जनशक्ति र उपकरणको अभाव
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
काठमाडौं । जलन क्षेत्रका जानकारहरूले नेपालमा जलन उपचारको अवस्था अझै सन्तोषजनक हुन नसकेको बताए। उनीहरूले नेपालमा जलन उपचार अझै चुनौतीपूर्ण रहेको र दक्ष जनशक्ति एवं उपकरणको अभाव रहेको बताएका छन् ।
तेस्रो राष्ट्रिय तथा दोस्रो विश्व जलन सप्ताहको अवसरमा नेपाल जलन फाउण्डेशनले आज आयोजना गरेको ‘जलन पीडितहरूको सामाजिक विभेद र समन्वय’ अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरूले जलन उपचार महँगो, जटिल र जनशक्ति अभावका कारण चुनौतीपूर्ण तथ्य प्रस्तुत गरे।
प्लास्टिक सर्जन प्रा डा शङ्करमान राईले नेपालमा पर्याप्त मात्रामा प्लास्टिक सर्जन उत्पादन हुन नसकेको बताए। उनका अनुसार सरकारले सबै प्रदेशमा जलन उपचार सेवा उपलब्ध गराउने नीति त बनाएको छ, तर आवश्यक जनशक्ति उत्पादनमा कमजोरी देखिएको छ । “यस क्षेत्रमा जनशक्ति विकासमा जोड दिनुपर्छ”, उनले भने।
त्यसैगरी, प्लास्टिक सर्जन सह–प्रा डा पशुपतिबाबु पोखरेलले जलन उपचारमा फलोअप, अस्पताल बसाइ र औषधि खर्च अत्यधिक हुने भएकाले निम्नआय भएका बरामीका लागि उपचार आर्थिक रूपमा निकै महँगो हुने बताए। उनका अनुसार सरकारी अस्पतालमा चिकित्सकका लागि दरबन्दी सीमित छ । उनले भने, “४० प्रतिशतभन्दा बढी बिरामीलाई बचाउन कठिन हुन्छ । पर्याप्त दक्ष जनशक्ति र उपकरण नहुँदा उपचार अझ जटिल बनेको छ ।”
नेपाल जलन फाउण्डेशनका संस्थापक अध्यक्ष तथा प्लास्टिक सर्जन प्रा डा पियुष दाहालले न्यून आय भएको देशमा जलन समस्या गम्भीर रूपमा देखिएको बताए । उनका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजार ५०० देखि दुई हजारसम्म व्यक्तिले पोल्ने वा डढ्ने कारण ज्यान गुमाउँछन् । तीमध्ये महिला र बालबालिकाको सङ्ख्या बढी छ ।
दाहालले जलन रोकथाम र उपचारका लागि प्रभावकारी नीति, सूचना प्रवाह र सचेतना कार्यक्रम आवश्यक रहेको उल्लेख गरे। जलन पीडित जेनी खड्काले पीडितले सामाजिक विभेद भोग्नुपरेको र अवसरको खाँचो रहेको गुनासो गरे।
Facebook Comments