अत्यधिक चिसो र हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा सारियाे
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
मुस्ताङ । एक साताअघि मुस्ताङका उच्च लेकहरूमा परेको भारी हिमपात र अत्यधिक चिसोका कारण त्यहाँ पालिएका याकचौँरीहरूलाई बेँसीका न्यानो स्थानमा स्थानान्तरण गरिएको छ । उच्च चरनक्षेत्र हिउँले ढाकिएपछि र पानीका मुहानहरू जमेपछि उनीहरूलाई जाडोबाट जोगाउन यसरी झारिएको हो ।
हिमालयन चौरीपालक तथा संरक्षण समितिका सचिव सोजन हिराचनका अनुसार मुस्ताङमा बर्सेनि कात्तिकदेखि जेठ महिनासम्म याकचौँरीलाई बेँसीमा सारिन्छ र गर्मी सुरु भएपछि वैशाखदेखि असोजसम्म उच्च लेकका खर्कमा फर्काइने गरिन्छ ।
थासाङ गाउँपालिका–२ स्थित मार्चे लेकका १० परिवारका झण्डै एक हजार याकचौँरी बेँसी झारिएका छन् । यसैगरी, मुलिखर्क र बतासे लेकबाट पनि करिब एक हजार २०० भन्दा बढी याकचौँरीहरू जाडो छल्न बेँसी झारिएको सचिव हिराचनले जानकारी दिए ।
घरपझोङ गाउँपालिकाका जोमसोम र स्याङ मार्फाका करिब पाँच सय बढी चौँरी पनि पारिलो ठाउँमा सारिएका छन् । मुस्ताङमा पुस्तौँदेखि चलिआएको याकचौँरीपालन व्यवसाय पछिल्लो समय जलवायु परिवर्तनका कारण सङ्कटमा पर्न थालेको छ ।
अनुकूल मौसममा हिउँ नपर्नु, उच्च लेकका चरनक्षेत्रमा घाँसको अभाव हुनु र हिमचितुवाजस्ता वन्यजन्तुको आक्रमण बढ्नुले यो परम्परागत संस्कृति र व्यवसाय जोगाउन चुनौती थपिएको छ ।
याकचौँरीको दूधबाट घिउ, छुर्पी बन्ने, पुच्छर महँगोमा बिक्री हुने तथा वयस्क याकको मूल्य रु. १ लाखदेखि १ लाख ५० हजारसम्म पर्ने भएकाले मुस्ताङका किसानका लागि यो महत्त्वपूर्ण आम्दानीको स्रोत हो ।
Facebook Comments