मधेस प्रदेश प्रमुख भण्डारीलाई राष्ट्रपतिले गरे पदमुक्त
मुख्यमन्त्रीको विवादमा भण्डारीको बहिर्गमन
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते ०२:५०
काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयमा चर्को राजनीतिक विवाद चलिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई पदबाट हटाइएको हो ।
प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्ने सिफारिस मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको थियो । भण्डारीले हालै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव लाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
अन्य सत्तारूढ तथा विपक्षी दलहरूलाई छलेर गरिएको उक्त नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपासहितका दलहरूले विरोध जनाएका थिए ।
विवादले उग्र रूप लिएपछि भण्डारीले सोमबार बिहान महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा बिरामीको बहाना बनाई नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई गोप्य रूपमा शपथ ग्रहण गराएकी थिइन् ।
यसै विवादका बीच मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज राष्ट्रपति पौडेलले सो सिफारिसलाई अनुमोदन गरेका हुन् ।

Facebook Comments