'डिशहोम गो' मोबाइल एपमार्फत एनपीएलका सबै खेल हेर्न सकिने
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २७ गते १९:११
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण गरिने भएकाे हाे ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ। दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ। एप र वेबसाइटबाट लाइभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ।
दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ। डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा
मास्टरकार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्। साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जनाएको छ।
Facebook Comments