असुरक्षा बढेपछि मधेसकी उपसभामुखले छाडिन् सरकारी आवास
सांसद थुनिने र हातपातका घटना
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
जनकपुरधाम । मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले प्रदेशसभा परिसरभित्र रहेको आफ्नो सरकारी आवास सुरक्षा जोखिम बढेको कारण देखाउँदै छाडेकी छन् ।
सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएपछि प्रदेशसभामा सिर्जना भएको तीव्र राजनीतिक तनाव र असहज माहोलका कारण आफूले यस्तो निर्णय लिएको उपसभामुख राउतले बताएकी छन् ।
उपसभामुख राउतले भनिन्, ‘प्रदेशसभामा राजनीतिक तनाव बढेको छ । कार्यकक्षमै सांसदहरू थुनिने, विवाद बढ्ने, हातपातको प्रयाससम्म हुने घटना देखिँदा म पनि असुरक्षित महसुस गरिरहेकी छु । सुरक्षा निकायको सुझावअनुसार मैले आवास छोडेकी हुँ ।’
हाल उनी जनकपुरधामस्थित आफ्नै निजी निवासमा अस्थायी रूपमा बसोबास गर्नेछिन् । यद्यपि, उनले प्रदेशसभामा आफ्नो नियमित दायित्व निर्वाहमा भने कुनै असर नपर्ने स्पष्ट पारेकी छन् ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएसँगै प्रदेशसभामा सत्ता र प्रतिपक्षबीचको विवाद चर्किएको छ, जसले सुरक्षा चुनौती थपेको हो ।
Facebook Comments