जापानमा भालु आतंक : प्रहरीलाई गोली चलाउने अनुमति

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/japan-valu.jpg

एजेन्सी । जापानमा पछिल्लो समय भालुको आक्रमण बढेसँगै सरकारले जनताको सुरक्षाका लागि कडा कदम चालेको छ ।

बढ्दो घातक आक्रमणलाई कम गर्न जापानको कडा हातहतियारसम्बन्धी कानुन संशोधन गरी प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको छ ।

अप्रिल महिनादेखि देशभर भालुको आक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ । भालुहरू लगभग दिनहुँ घरभित्र पस्ने, विद्यालय नजिकै घुम्ने र सुपर मार्केटमा तोडफोड गर्ने घटनाहरू रिपोर्ट भइरहेका छन् ।

बढ्दो आक्रमणलाई सामना गर्न सरकारले पहल गरिरहेको बेला वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्या लाई आक्रमण वृद्धिको मुख्य कारण मानेका छन् ।

अधिकांश आक्रमणहरू भएका अकिता र इवाटेका उत्तरी क्षेत्रहरूमा बिहीबार एक समारोह आयोजना गरी प्रहरीलाई जनधनको सुरक्षाका लागि राइफल लगायतका हतियार प्रयोग गरी भालुहरूलाई गोली हान्न अनुमति दिइएको छ ।

गत हप्ताको घोषणापछि हातहतियारसम्बन्धी नियमहरूमा यो परिवर्तन बिहीबारदेखि लागू भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

जापानमा भालुको आतंक यति बढेको छ कि टोकियोस्थित अमेरिकी दूतावासले समेत बुधबार चेतावनी जारी गर्नुपर्‍यो । दूतावासले भालु देखिएका क्षेत्रहरूमा एक्लै नहिँड्न र आक्रमणबाट जोगिनका लागि पूर्ण रूपमा भालुबाट टाढा रहन आग्रह गरेको छ । बेलायती सरकारले पनि यात्रुहरूलाई यस्तै आग्रह गरेको छ ।

यसको असर हवाई सेवामा समेत देखिएको छ । इवाटे प्रान्तको इवाटे हानामाकी एयरपोर्टको वरपर बुधबार एउटा भालुको बच्चा देखा परेपछि रनवे करिब एक घण्टाका लागि बन्द भएको थियो, जसका कारण दुई वटा घरेलु उडानहरू ढिलाइ भएका थिए ।

जापानले गत हप्तादेखि अकिता क्षेत्रमा सैनिकहरू पनि तैनाथ गर्न थालेको छ, यद्यपि सैनिकहरूलाई भने भालुहरूको सिकार गर्ने अनुमति दिइएको छैन ।


Facebook Comments