म्याग्दीको ताकममा सेनाको स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २९ गते ०६:४५
म्याग्दी । नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब २०० जना लाभान्वित भएका छन् ।
धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको प्रर्वद्धक अपर म्याग्दी हाइड्रोपावरको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा ११३ जना महिला र ७१ जना पुरुष गरी १८४ जना लाभान्वित भएका गुरु गोरख गुल्मका गुल्मपति रामभोला खड्काले बताए।
नेपाली सेनाको श्री नं २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङका प्राविधिक सहसेनानी डा असिम भण्डारी, प्रादेशिक अस्पताल बेनीका डा सागरबाबु ढकाल, गुरु गोरख गुल्म र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिएका थिए।
दाँत, आँखा, कान, जनरल चेकजाँच तथा अन्य सेवा प्रदान गरिएको थियो । ताकम, धारापानी, हिलापोखरी, काफलडाडा, शिवाङ, मच्छिम, काफलडाडाका बासिन्दाले सेवा लिएका थिए । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि ४५ किलोमिटर पश्चिममा रहेको ताकम घना बस्ति भएको वडा हो ।
सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर स्वाथ्य शिविर सञ्चालनका लागि नेपाली सेनालाई सहयोग गरेको अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी समेत दिए ।
Facebook Comments