रास्वपा उपसभापति वाग्ले भन्छन्–  आगामी निर्वाचनमा हामी चौथोबाट पहिलो पार्टी बन्छौं

'देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको छ'

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते २३:१२
Image of https://mayorsap.com/storage/photos/shares/swarnim-wagle_2.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरुलाई पार्टीमा प्रवेश गराएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए । 

उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाडौं उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरु आउनु भएको छ । हामीले पार्टीका कार्यक्रमहरुमा भन्ने गरेका छौ यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर यो समावेशिताको मर्मलाई अपनाएर अगाडि बढिरहेको पार्टी हो यसमा हामीले धेरै काम गर्न बाँकी नै छ । हाम्रो नियत, प्रयास सहि दिशामा छ जस्तो लागेको छ र आज त्यसैको सानो झलक देखिएको छ ।’

यस्तै, उनले सबै ठाँउको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि जानकारी दिएका छन् । फागुन २१ को निर्वाचनमा चौथो नम्बरबाट पहिलो पार्टी बन्ने उद्घोषका साथ अगाडि बढेको पनि उनको भनाई छ ।


Facebook Comments