सिमराको तनावपछि जेन-जी र दलहरूलाई संयमित हुन आग्रह
नागरिक समाजको गम्भीर अपिल
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते १६:५५
काठमाडौं । बाराको सिमरामा जेन–जी युवा र राजनीतिक दलहरूबीच उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने असजिला व्यवहारहरू रोक्न तीनवटै पक्षलाई संयमित हुन अपिल गरेको छ ।
नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालद्वारा जारी विज्ञप्तिमा फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको उल्लेख छ ।
विज्ञप्तिमा सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश र संरचनाहरूमा क्षतिलाई गम्भीरतापूर्वक लिइएको छ ।
नागरिक समूहले जेन–जीको नाममा कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार भएको र दलहरूले पनि प्रतिवादका नाममा तनाव थप्ने काम गरेमा शान्तिपूर्ण निर्वाचन गराउन कठिन भई देश राजनीतिक शून्यतामा धकेलिन सक्ने चेतावनी दिएको छ ।
जेन–जी युवाहरूलाई बदलाको भावना, हिंसा र निषेधबाट अलग रहेर शान्तिपूर्ण अभिव्यक्तिको बाटोमा हिँड्न आग्रह गरिएको छ । साथै, दलहरूलाई चुनावी गतिविधि गर्दा उक्साहट, भिडन्त र तनाव निम्त्याउने कार्यबाट टाढा रहन सुझाव दिइएको छ ।
नागरिक समूहले सबै पक्षलाई संवादमार्फत समस्या समाधान गर्न र संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन अत्यावश्यक भएको ठहर गर्दै सरकारलाई पनि फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष चुनाव सम्पन्न गर्ने ऐतिहासिक दायित्व पूरा गर्न गम्भीर बन्न जोड दिएको छ ।
Facebook Comments