किसान सूचीकरण गर्दै माडी नगरपालिका
१० जना किसान सूचीकरण सहजकर्ता नियुक्ति गरिँदै
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते २३:०४
चितवन । माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ । पहिलो पटक पालिकामा किसान सूचीकरण गर्न लागिएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार अहिले किसान सूचीकरणका लागि गणक नियुक्तिको प्रक्रिया सुरु गरिएको छ ।
गणक नियुक्तिसँगै सूचीकरणको काम सुरु गरिने उनले जानकारी दिए । यसका लागि किसान सूचीकरण सहजकर्ता १० जना नियुक्ति गरेर काम गर्न लागिएको हो । उनीहरूले तीन महिनासम्म सबै किसानको घरघरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।
यस पालिकामा १० हजार बढी घरधुरी छन् । तीमध्ये सात हजार बढी घरधुरी किसान रहेका अनुमान नगरपालिकाले गरेको छ । प्रशासकीय अधिकृत भुसालले भने, “वास्तविक किसानको सङ्ख्या कति छ र कुन किसानको जमिन कति छ भन्ने तथ्याङ्क सङ्कलनका लागि काम गर्न लागेका हौँ ।” उनका अनुसार योे सूचीकरणले कृषकको वास्तविकता, अवस्था कस्तो छ भन्ने विस्तृत अध्ययन गरिने छ ।
सूचीकरण गरी सकेपछि सेवा प्रवाह गर्न र योजना बनाउनमा सहयोग पुग्ने भुसालले बताए । उनका अनुसार किसान लक्षित योजना र उनीहरुको आवश्यकता पूरा गर्नका लागि सूचीकरणले टेवा पुग्ने छ । किसानका लागि आवश्यक पर्ने मल, बीउ वितरणदेखि सबै किसिमका काममा सहयोग पुग्ने उनले बताए ।
Facebook Comments