मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन प्रतिबद्ध छौंः गृहमन्त्री अर्याल
मेयरसाप डेस्क
|
२०८२ मंसिर २२ गते १६:१६
ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय १२५ संस्थाको सहकार्यमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १७औँ राष्ट्रिय मानवअधिकार महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार मानवअधिकारको अभिभावक सरकार भएको र हिंसालाई कहिल्यै स्वीकार नगर्ने बताए ।
“मानवअधिकार लोकतान्त्रिक समाजको मेरुदण्ड हो, देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, नीतिगत सुधार गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नु वर्तमान सरकारको दायित्व हो, जेनजेड आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज हो, आन्दोलनको म्यान्डेट सुशासन हो, जेनजेड आन्दोलनले जवाफदेहिता खोजिरहेको छ, हामी हिंसालाई निरुत्साहित गर्छौं, प्राकृतिक विपद्बाट हुने घटना रोक्न प्रयास गरिरहेका छौँ,” उनले भने।
गृहमन्त्री अर्यालले वर्तमान सरकारलाई देशमा चुनाव गराउने जिम्मेवारी रहेको स्मरण गर्दै चुनावका लागि शान्तिसुरक्षा अनिवार्य भएको बताए। उनले मानवअधिकार आयोग र महिला अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयन नभएको विषयलाई ‘नोटिस’ मा लिएर प्राथमिकता दिएको बताए ।
“अहिले राष्ट्रिय रूपमा मनोबल खस्किएको अवस्थामा हामी सचेत भएर लागेका छौँ, हामीले अलिकति विवेक पुर्याउन सकेनौँ भने हिंसा र प्रतिशोधको भावना विकास हुनेछ, यसका लागि हामी सचेत छौँ, प्रधानमन्त्रीले अभिभावकीय भूमिका निर्वाह गरिरहनुभएको छ, उहाँको अभिभाकीय सोचअनुसार गृहमन्त्रीले काम गर्ने हो, राज्यले दमनकारी काम गर्दैन, त्यस्तो आभास भयो भने भन्नुहोला, कानुन कार्यान्वयन पहिलो प्राथमिकता हो, दण्डहीनता हुन दिँदैनौँ,” गृहमन्त्री अर्यालले भने ।
नागरिक समाजले समाजका विषयमा आफ्ना धारणा राख्नुपर्नेमा जोड दिँदै उनले नागरिक समाजले आवश्यक विषयमा बोल्दा सरकारलाई पनि सहज हुने बताए । गृहमन्त्री अर्यालले मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले आयोजित यस महाभेलाको सफलताको कामना गर्दै देशमा हिंसा नदोहोरिने गरी सुशासनको प्रत्याभूति गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताए ।
Facebook Comments