सर्वोच्चको आदेश विपरीत घर भत्काइएको भन्दै हेटौँडामा विरोध प्रदर्शन

हेटौँडा सडक विस्तार विवाद

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २२ गते १७:५२
Image of https://mayorsap.com/storage/photos/shares/birodgh.jfif

मकवानपुर । हेटौँडामा पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा विस्तार गर्ने क्रममा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवज्ञा गरी घर–टहराहरू भत्काइएको विरोधमा घर–जग्गाधनीहरू आन्दोलित भएका छन् ।

अदालतले विवादित क्षेत्रमा सडक विस्तार तत्काल रोक्न दिएको अन्तरिम आदेश कार्यान्वयन नभएको भन्दै घर–जग्गाधनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले लालपुर्जाको वैधानिकता, नक्सा–सीमा मिलान, उचित क्षतिपूर्तिको अभाव र अवैध रूपमा बल प्रयोग गरेर विस्तार अघि बढाइएको भन्दै विरोध जनाएका छन् ।

विरोधपछि प्रमुख जिल्ला अधिकारी, घरधनी, सडक डिभिजन र सुरक्षा निकायका प्रमुखहरूबीच वार्ता भएको थियो । वार्तामा जिल्ला प्रशासन कार्यालयले कानुनअनुसार गर्न मिल्ने कामका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखसँगको छलफलपछि घरधनीहरूले विरोध प्रदर्शन रोकेका छन् । उनीहरूले अदालतको आदेशको पूर्ण पालना र क्षतिपूर्ति नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

गत शुक्रवार मात्रै सर्वोच्च अदालतले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थिए । तर, आदेशको भोलिपल्टै लालपुर्जा भएका र कर तिरेका सबै संरचनाहरूमा डोजर चलाइएको थियो ।

सडक डिभिजन हेटौँडाले भने सर्वोच्च अदालतले दिएको उत्प्रेषण आदेशका कारण सडक विस्तार गर्ने काम तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।


Facebook Comments