आम्दानी तथा खर्च पारदर्शी नभएपछि नेपालगञ्ज उपमहानगरको नगरबस प्रयोगविहीन

आवश्यक व्यवस्थापनका लागि अध्ययन समिति गठन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २३ गते ०२:३९
Image of https://mayorsap.com/storage/photos/shares/bus5.PNG

काठमाडौं । पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगञ्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् । 

वार्षिक करिब रु एक करोड ठेक्कामा लगाइएको नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । नगरबस प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।

“अहिले हामीले त्यसको अध्ययनका लागि समिति गठन गरेका छौँ, समितिको प्रतिवेदनपछि विस्तृत जानकारी आएपछि आवश्यक व्यवस्था गरिने छ,” उनले भने ।

नगरबस सञ्चालनका लागि उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे नगरबस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो ।  केही समय चलेपनि आर्थिक पक्षसहित व्यवस्थापनमा समस्या देखिएपछि नगरबस सञ्चालन हुन नसकेको बताइएको छ ।

उपमहानगरपालिकाले नगरबस सञ्चालन गर्न नसकेपछि बस सञ्चालनका लागि बोलपत्र आह्वान गरी ठेक्कामा लगाएको थियो । तर, ठेकेदारले समेत नियमित रुपमा बस सञ्चालन गर्न नसकेपछि वर्षौंदेखि नगरबस बसपार्कमा थन्क्याइएको नेपालगञ्ज उपमहानगरपालिका–६ का वडाध्यक्ष समीरप्रताप सिंहले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष प्रमोद रिजालले बसपार्कमा थन्किएका बसको अवस्था, कानुनी मुद्दा र त्यसको प्रयोगको अवस्थाबारे अध्ययन गरी आगामी कार्यपालिका बैठकमा प्रतिवेदन पेस गर्न १५ दिनको समय तोकिएको जानकारी दिँदै अध्ययन समितिको प्रतिवेदनपछि मात्रै सबै विषय आउने स्पष्ट पारे । “बरु थप बजेट विनियोजन गरेर भएपनि जुन उद्देश्यले बस खरिद गरिएको हो सोहीबमोजिम सञ्चालन गर्न उचित हुन्छ”, वडाध्यक्ष रिजालले भने ।

उपमहानगरपालिकाको सामाजिक विकास शाखा प्रमुख कृष्ण जोशीले पाँच वर्षसम्म सञ्चालन भएको नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेको जानकारी दिँदै नगरबस र बसपार्क एकीकृत रुपमा ठेक्का लगाए पनि सिर्जित समस्याका कारण बस सञ्चालन हुन नसकेको बताए।

नेपालगञ्ज उपमहानगरपालिकाको गत कात्तिकमा बसेको कार्यपालिकाको बैठकले नगरबस व्यवस्थापनका लागि वडा नं ४ का अध्यक्ष गोपाल पुनको संयोजकत्वमा छ सदस्यीय नगरबस व्यवस्थापन अध्ययन समिति गठन गरेको थियो। यसैबीच नगरबस सञ्चालनका विषयमा अदालतमा समेत मुद्दा परेको बताइएको छ । 


Facebook Comments