सिलिचोङमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घर–घरमै स्वास्थ्य परीक्षण
घरदैलो स्वास्थ्य परीक्षण
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते १५:४६
खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै ‘घरदैलो स्वास्थ्य परीक्षण, परामर्श, उपचार तथा सम्मान’ कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङ र उपाध्यक्ष देविता कुलुङको उपस्थितिमा सुरु भएको यस कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूले ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरूको अनिवार्य रूपमा रक्तचाप (ब्लड प्रेसर) र सुगर (चिनी रोग) परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।
नसर्ने रोगहरूको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यो कार्यक्रम सोमबारबाट वडा नम्बर ३, ताम्कूको साईजा टोलबाट शुभारम्भ गरिएको हो । ७५ वर्षभन्दा माथिका ४३९ जना ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरूप एक थान इलेक्ट्रिक जग प्रदान गरिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत प्रवीण राईका अनुसार, उच्च रक्तचाप तथा सुगरको नियमित औषधि सेवन गर्ने बिरामीहरूलाई परामर्श र औषधि व्यवस्थापनमा सहयोग गरिनेछ, साथै निःशुल्क औषधिबाट हुने साधारण स्वास्थ्य सेवा घरमै दिने लक्ष्य राखिएको छ।
सिलिचोङ गाउँपालिकामा ७० वर्षभन्दा माथिका कुल ७८५ जना र ७५ वर्षभन्दा माथिका ४३९ जना ज्येष्ठ नागरिकहरू रहेका छन् । यो कार्यक्रम सबै वडाका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ ।
Facebook Comments