मानव अधिकारको मूल चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
कठोर कदम चाल्ने प्रतिबद्धता
मेयरसाप डेस्क
|
२०८२ मंसिर २४ गते ०३:५०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारलाई राज्यको नीति निर्माण, सुशासन र विकासको मूल केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा भ्रष्टाचारलाई मानव अधिकार उल्लङ्घनकै गम्भीर रूपमा परिभाषित गर्दै योविरुद्ध कठोर कदम चाल्ने सरकारी निर्णय दोहोर्याइन् ।
‘भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन, यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो,’ उनले भनिन् ।
उनले २१औँ शताब्दीमा डिजिटल पहुँच, गोपनीयता र स्वच्छ वातावरणजस्ता अधिकारहरू पनि आधुनिक मानव अधिकारका अनिवार्य आयाम बनेको बताइन् ।
कार्कीले जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत मानव अधिकार र सुशासनप्रति देखाइरहेको संवेदनशीलतालाई ’लोकतन्त्रको सुन्दर प्रकटीकरण’ भन्दै प्रशंसा गरिन् ।
उनले सरकार युवाको डिजिटल अधिकार र गोपनीयताको सुरक्षामा प्रभावकारी नीति ल्याउन कटिबद्ध रहेको स्पष्ट पार्दै राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्ततालाई प्राथमिकता दिने बताइन् ।
Facebook Comments