बडीमालिका नगरपालिका-८ छाउपडी गोठमुक्त वडा घोषित

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन

User Image गोविन्द तिमिल्सेना | २०८२ मंसिर २४ गते ०६:०३
Image of https://mayorsap.com/storage/photos/shares/1000053064.jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा विभिन्न कार्यक्रम गरेर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन गरिएको छ । 

बुधबार नगरपालिकाको महिला बालबालिका शाखाको आयोजना, विभिन्न संस्थाको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम गर्दै लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको हो।

अभियान समापन कार्यक्रममा बडीमालिका नगरपालिकाको वडा नम्बर ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा समेत गरिएको छ। बडीमालिका नगरपालिकाले पालिका भित्र रहेका ६ वटा वडालाई यस अघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेको छ ।

बाँकी रहेका १, ७ र ८ नम्बर वडालाई पनि यो आर्थिक वर्षभित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्ने नगर उपप्रमुख नन्दा कुमारी थापाले बताइन् ।

समाजमा व्याप्त कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि नगरपालिकाले थालेको तीव्र अभियान स्वरुप ८ नम्बर वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्न सफल भएको उनले बताइन् ।

बाँकी रहेका वडामा महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउ गोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि घरपरिवारलाई सुझाव दिँदै आएको समेत उपप्रमुख थापाले बताइन् ।

समाजमा जरो गाडेर बसेको छाउपडी प्रथालाई समाजबाटै निर्मुल गर्न गोठलाई नियन्त्रण गरेर मात्र नहुने भएकाले सम्पूर्ण महिलाहरु शिक्षित हुनुपर्ने र छाउपडी सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाई छ ।

लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान समापन तथा छाउपडी गोठमुक्त कार्यक्रममा लैङ्गकि हिंसा तथा छाउपडी सम्बन्धी बृहत् देउडा कार्यक्रम गरिएको थियो । साथै बालविवाह, कुसंस्कार, कुरितिलगायत विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गरिएका थिए।

देउडा प्रतियोगितामा विभिन्न वडाबाट सहभागी महिला समूहबाट छाउपडी, छुवाछुत, कुसंस्कार, कुरिती तथा लैङ्गकि हिंसा बारे देउडामार्फत सवाल–जवाफ गरिएको थियो। देउडा प्रतियोगिताले परम्परागत संस्कृतिको जेगेर्ना सँगै लैङ्गकि हिंसा, छुवाछूत तथा छाउपडी प्रथा न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा लगिएको छ।

देउडा प्रतियोगितामा सहभागी ८ समूहलाई उचित पुरस्कारसहित सम्मानित गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ मनाइएको छ।

बडीमालिका नगरपालिका–८ का कार्यवाहक अध्यक्ष करे रावलको अध्यक्षतामा सञ्चालन भएको लैङ्गिक हिंसाविरुद्धको अभियान समापन तथा छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका उपप्रमुख नन्दा कुमारी थापा थिइन् ।

 


Facebook Comments