मजदुरीका लागि अभिभावक भारतमा : बालबालिकाको काँधमा घरको जिम्मेवारी

घरको अभिभारा बोक्दा पढाइ प्रभावित

User Image डीबी विष्ट | २०८२ मंसिर २५ गते २२:४०
Image of https://mayorsap.com/storage/photos/shares/edu-ca.jpg

बझाङ । बझाङको थलारा गाउँपालिकामा रोजगारीका लागि अभिभावकहरू भारत पलायन हुँदा यहाँका विद्यालयमा अध्ययनरत बालबालिकाहरू घरको सम्पूर्ण जिम्मेवारी बोक्न बाध्य भएका छन् ।

गाउँघरमा जीविकोपार्जनको विकल्प नभएपछि अभिभावक रहरले नभई बाध्यताले भारतमा मजदुरी गर्न पुग्दा यो अवस्था सिर्जना भएको हो । यो थलारा गाउँपालिकाका ४२ वटै विद्यालयको साझा समस्या नै बनेको छ ।

कलिलो काँधमा घरको जिम्मेवारी
त्रिभुवन माध्यमिक विद्यालय महेन्द्रधारमा कक्षा ८ मा अध्ययनरत छात्रा अनिता बिसीको दैनिकी यसको उदाहरण हो । उनका बाबुआमा रोजगारीको खोजीमा भारत गएपछि घरको सम्पूर्ण काम, खानाको जोहो र दुई भाइको रेखदेखको जिम्मेवारी अनिताको काँधमा छ । कामको धपेडीले गर्दा उनलाई गृहकार्य गर्ने र समयमै विद्यालय पुग्न धौ–धौ हुने गरेको छ ।

भारतमा रहेका अनिताका बाबुआमालाई पनि छोराछोरीको चिन्ताले हर बखत सताउँछ । यद्यपि, गाउँघरमा केही रोजगारी नहुँदा उनीहरू परिवारसहित भारतका सहर र गल्लीमा भौँतारिन बाध्य छन् ।

सोही विद्यालयकी अर्की छात्रा स्वस्तिका साउद, रोशनी बोहरा र रवीन्द्र बोहरालगायत धेरै विद्यार्थीका अभिभावकले पनि घरको जिम्मेवारी कलिला बालबालिकालाई सुम्पेर भारत गएका छन् । कतिपय अभिभावक त सपरिवारसहित बालबालिकालाई विद्यालयमा भर्ना मात्रै गराएर भारतमा रोजगारी गर्दै आएका छन् ।

शैक्षिक गुणस्तरमा समस्या
अभिभावकको अनुपस्थिति र कलिला विद्यार्थीमाथि परेको कामको बोझले शैक्षिक गुणस्तरमा विकराल समस्या निम्त्याएको छ । थलारा गाउँपालिकाका शिक्षा संयोजक हर्क बहादुर रोकायाका अनुसार पालिकाभरका विद्यालयमा यस्ता विद्यार्थीको सङ्ख्या १५ देखि २० प्रतिशतभन्दा बढी छ ।

उनले भर्नाको समयमा समेत अभिभावक फेला पार्न नसक्ने कतिपय बालबालिकाहरू बेवारिसे जस्तै भेटिएका र पालिकाले यस्ता बालबालिकाहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्यायका अनुसार, शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालन गरिएका कार्यक्रमहरूमा अभिभावकको सहभागिता न्यून रहन्छ । यो समस्या थलारामा मात्र नभई जिल्लाभरका नगरपालिका र अन्य गाउँपालिकाहरूमा समेत विकराल छ । धेरैजसो नागरिक घरमा ताला लगाएरै रोजगारीका लागि भारत जाने गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले बालबालिकाहरू दिनमा ६ घण्टा मात्र शिक्षकको निगरानीमा रहने र बाँकी १८ घण्टा अभिभावक नै नहुँदा उनीहरूको पढाइ, गृहकार्य र आनीबानीमा निगरानी गर्ने कोही नहुने बताए ।

अभिभावकले पठाएको पैसा र मोबाइलको दुरुपयोगले बालबालिका बिग्रने खतरा उत्तिकै रहेको उनको भनाइ छ । अभिभावक घरमा नहुँदा धेरैजसो बालबालिकामा नकारात्मक असर परेको र अभिभावकीय शिक्षा कार्यक्रम समेत प्रभावित भएको अध्यक्ष रोकाया बताउँछन् ।

‘डे होस्टेल’को अवधारणा
यस समस्याको दीर्घकालीन समाधानका लागि अध्यक्ष रोकायाले प्रत्येक विद्यालयमा ‘डे होस्टेल’ सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

रोकायाका अनुसार, ‘डे होस्टेल’ सञ्चालन गर्न खर्च बढी लाग्ने भएकाले शिक्षकहरूको सामान्य पारिश्रमिक गाउँपालिकाले उपलब्ध गराउन सक्छ, तर बालबालिकाहरूको बिहान बेलुकाको नास्ता र दिउँसोको खानाको खर्च अभिभावकहरूले नै व्यहोर्नुपर्छ ।

यो व्यवस्थाले रोजगारीका लागि भारतमा रहेका अभिभावकहरू ढुक्क हुने र बालबालिकाहरूको भविष्यमा सुधार आउनुका साथै शैक्षिक गुणस्तर सुधार हुने उनको विश्वास छ ।

अध्यक्ष रोकायाले यस कार्यलाई पालिकाभरि कार्यान्वयन गर्नका लागि अभिभावकहरूको बढी सक्रियता आवश्यक रहेकोमा जोड दिएका छन् ।


Facebook Comments