रमेश लेखकमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान हुँदै

भिजिट भिसा प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २५ गते १९:२५
Image of https://mayorsap.com/storage/photos/shares/lekhak_1.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री रमेश लेखक माथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।

अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोग पत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी लगायतसँग गैर कानुनी रकम लेनदेन भएको हुनसक्ने र बदनियत सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको हुनसक्ने आशङ्का गरिएको छ ।

यो अनुसन्धान तत्कालीन विमानस्थल अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको साथबाट बरामद भएको डायरी र उनको कल डिटेल रेकर्डमा आधारित छ । अख्तियारका अनुसार, ती रेकर्डबाट अस्वाभाविक सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान भएको हो ।

गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत गृह मन्त्रालयका उच्च अधिकारीहरू अनुसन्धानको दायरामा रहेको अख्तियारले जनाएको छ ।

अख्तियारले यी पदाधिकारीहरूसँग भट्टराईको अस्वाभाविक पहल, सम्बन्ध, र शङ्कास्पद गतिविधि देखिएकाले छुट्टै अनुसन्धान भइरहेको विशेष अदालतलाई जानकारी गराएको छ ।


Facebook Comments