मनहरी गाउँपालिकामा धानबाली बिमाको क्षतिपूर्ति वितरण

१९ किसानलाई १ लाख ३३ हजार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते १६:३६
Image of https://mayorsap.com/storage/photos/shares/sahayog.png

हेटौँडा । मकवानपुर जिल्लामै पहिलो पटक धानबाली बिमा गराएको मनहरी गाउँपालिकाका किसानहरूले बाली क्षतिबापतको बिमा रकम प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष रञ्जन काला खेतीले बुधवार (अस्ति) एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरे ।

मनहरी गाउँपालिकाले शिखर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा सुरु गरेको धानबाली बिमा कार्यक्रमअन्तर्गत १९ जना किसानले कुल १ लाख ३३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।

गत असोजको वर्षामा डुबान र फड्के किराको प्रकोप लगायतका कारण क्षति भएको भन्दै किसानहरूले बिमा दाबी गरेका थिए । क्षतिपूर्ति दाबी गर्ने किसानमध्ये एकै जनाले ३५ हजार रुपैयाँसम्म भुक्तानी पाएका छन् ।

धानबाली बिमा गराएका ५२ किसानमध्ये विपन्न किसानको बिमाङ्क रकमको २० प्रतिशत हिस्सा समेत गाउँपालिकाले व्यहोर्ने गरी बजेट छुट्टाइएको अध्यक्ष काला खेतीले जानकारी दिए ।

गाउँपालिकाले धान बालीसँगै अब मकै र तरकारी बालीको पनि बिमा सुरु गर्ने तयारी गरेको जनाएको छ । बिमा कम्पनीले मनहरीका लागि छुट्टै कृषि प्राविधिकको व्यवस्था गर्ने पनि जनाइएको छ ।


Facebook Comments