देवघाट धामलाई पूर्ण रूपमा प्लास्टिक निषेधित क्षेत्र बनाइँदै
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते १६:१८
काठमाडौं । देवघाट क्षेत्र विकास समितिले देवघाट धामलाई पूर्ण रूपमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने तयारी थालेको छ । चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का स्थानीय तहहरूसँगको समन्वयमा यो अभियान अगाडि बढाइएको हो ।
कार्यकारी निर्देशक सदन बरालका अनुसार फूल, प्रसाद, टीका लगायतका पूजा सामग्री प्लास्टिकमै ल्याउँदा र शवदाह स्थलमा समेत प्लास्टिकजन्य फोहोर तथा मृतकका सामान छाडिदिँदा नदी किनार र समग्र क्षेत्रमा प्रदूषण बढेको छ ।
‘अब पनि रोकेनौँ भने भोलिका दिनमा देवघाट क्षेत्र फोहोरको थुप्रोले पुरिने छ,’ उनले भने, ‘दुःखमा परेका मलामीलाई सम्झाउन गाह्रो हुने भएकाले सञ्चारमाध्यममार्फत व्यापक प्रचारप्रसार गरिने योजना छ ।’
अध्यक्ष डा. ईश्वरीप्रसाद लौडारीका अनुसार, देवघाट धाम मात्र नभई क्षेत्रभित्र पर्ने ५ हजार ४३२ हेक्टर क्षेत्रफललाई नै प्लास्टिकमुक्त बनाउने योजना छ ।
क्षेत्र विकास समितिले देवघाट क्षेत्र प्रवेश गर्ने सबै तीर्थयात्री तथा व्यक्तिलाई प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न आग्रह गरेको छ । यसको सफल कार्यान्वयनले देशका अन्य धार्मिक स्थलहरूलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ ।
Facebook Comments