परीक्षा चलिरहेका बेला विश्वविद्यालयमा चल्यो अन्धाधुन्ध गोली

२ जनाको मृत्यु, ८ घाइते

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २८ गते ११:१८
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design.jpg

एजेन्सी । अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित ब्राउन विश्वविद्यालयको इन्जिनियरिङ भवनमा परीक्षा चलिरहेको समयमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, कालो कपडा लगाएका एक अज्ञात संदिग्धले आक्रमण गरेका थिए । गोली चलाएपछि उनी फरार भएकाले प्रहरीले सीसीटीभी फुटेज जाँच गरी आक्रमणकारीको खोजी तीव्र पारेको छ ।

आक्रमणकारीको पहिचान र मृतकहरू विद्यार्थी हुन् वा होइनन् भन्नेबारे पुष्टि भइसकेको छैन । घटना सार्वजनिक भएपछि विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको थियो ।

एक विद्यार्थीले सक्रिय आक्रमणकारीको सूचना आएपछि आफूहरू करिब दुई घण्टा डेस्कमुनि लुकेर बसेको स्थानीय टेलिभिजनलाई बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ’डरलाग्दो’ भन्दै दुःख व्यक्त गरेका छन् र पीडितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गन भायोलेन्स आर्काइभका अनुसार, अमेरिकामा यस वर्ष मात्रै चार वा सोभन्दा बढी व्यक्ति गोली लागेका ३८९ वटा सामूहिक गोलीकाण्ड भइसकेका छन्, जसमा विद्यालयमा भएका कम्तीमा ६ वटा घटना समावेश छन् ।


Facebook Comments