मापदण्ड नपुग्दा शुक्लाफाँटामा मुक्त हलियाको घर ७ वर्षदेखि अलपत्र
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते १९:१७
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा सात वर्षअघि मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि खरिद गरिएको जग्गामा सुरक्षित आवास निर्माण हुन सकेको छैन । प्राविधिक त्रुटि र मापदण्ड नपुगेका कारण २५ परिवार हलियाको पुनःस्थापना अलपत्र परेको हो ।
नगरपालिकाले २०७७ मा २५ परिवारका लागि सात धुरका दरले जग्गा उपलब्ध गराई लालपुर्जासमेत वितरण गरेको थियो । तर, राष्ट्रिय हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष शिवी लुहारका अनुसार जग्गाको चौडाइ सरकारी मापदण्डअनुसार अत्यन्तै न्यून भएकाले घर निर्माण सम्भव नभएको हो ।
नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेर दुई कोठा, एक बरन्डा र एक शौचालयसहितको आवास बनाउने योजना बनाएको थियो । तर, जग्गाको मापदण्ड नपुगेको भन्दै सहयोगी संस्थाहरूले पनि सहकार्यबाट हात झिकेका छन् ।
मुक्त हलिया खन्टी दमाईंले लालपुर्जा पाएको वर्षौं बित्दा पनि घर नबन्दा अझै झुपडीमै बस्नुपरेको गुनासो गरे ।
नगरपालिकाको कदम
वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार खरिद गरिएको जग्गामा अधिकतम १८ वटा आवास मात्रै निर्माण हुनसक्ने देखिएको छ ।
जग्गा खरिद प्रक्रियामा देखिएको समस्या र त्रुटिबारे छानबिन गर्न नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिले छिट्टै प्रक्रिया अघि बढाउने र घरजग्गा भएका व्यक्ति पनि पुनःस्थापनामा परेको भन्ने जानकारीबारे छानबिन गर्ने जनाएको छ ।
हालसम्म नगरपालिकामा ‘क’ श्रेणीका २५ जना मुक्त हलियाले लालपुर्जा पाए पनि पुनःस्थापन हुन सकेका छैनन् ।
Facebook Comments