हाइड्रोपावरको जागिर छाडेर कागतीखेतीमा इन्जिनियर लोहनी
मेयरसाप डेस्क
|
२०८२ पुष २ गते १२:२७
घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाएका छन् ।
रासायनिक विषादी प्रयोग नगरी खेतीमा लागेका सिभिल इन्जिनियर उनले यसमा रु एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गरेका ४१ वर्षीय लोहनीले यसलाई ६ बिघा विस्तार गरेका छन् ।
उद्यमी लोहनीले सञ्चालन गरेको बगैँचामा ‘सुन कागती–१’ जातका करिब दुई हजारभन्दा बढी बिरुवा रोपिएका छन् । उनले भने, “सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गर्दछ । हाल कागती जिल्लाको घोराही बजारसँगै काठमाडाैं पनि पठाउने गरेको छ ।”
बगैँचामा १० जनाले रोजगारी पाएका छन् । खेती बढाउने सोचमा रहनुभएका उहाँले प्रतिकट्ठा वार्षिक रु तीन हजार तिर्ने गरेको बताए । उनले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्ने उनको लक्ष्य छ ।
काठमाडौंमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा सेवा गरेका उद्यमी लोहनीले भने, “सागसब्जीका तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कम हुने र उत्पादन पनि अधिक हुने भएकाले कागतीखेतीमा लागेको हुँ ।
गत वर्ष प्रतिकिलो रु एक सय ५० सम्म मूल्य पाएको कागती यस वर्ष रु ८० मा झरे पनि खेतीप्रति निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
Facebook Comments