थलारामा जडीबुटीबाट साबुन उत्पादन : आत्मनिर्भर बन्दै महिलाहरू

मासिक २० हजारसम्म आम्दानी

User Image डीबी विष्ट | २०८२ पुष ३ गते १५:२६
Image of https://mayorsap.com/storage/photos/shares/thala-sabun.png

बझाङ । बझाङको थलारा गाउँपालिका वडा नम्बर २ भौगोलिक र पूर्वाधार विकासका दृष्टिले अन्य क्षेत्रको तुलनामा निकै विकट मानिन्छ । यस वडाका विभिन्न टोलहरूमा अहिले पनि विकास निर्माणका कार्यहरूले पूर्ण रूपमा छुन नसकेको भए पनि स्थानीय सरकार सञ्चालन भएदेखि यहाँका नागरिकहरूले विकासको केही हदसम्म अनुभूति गर्न थालेका छन् ।

उब्जनीको हिसाबले हेर्दा यहाँको अधिकांश जमिन पाखो छ, तर विभिन्न प्रजातिका फलफूलहरू प्रचुर मात्रामा उत्पादन गर्न सकिने सम्भावना यहाँ विद्यमान रहेको देखिन्छ । छिमेकी जिल्ला डोटीसँग सिमाना जोडिएको यस वडाको सिरानमा खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छ, जहाँ विभिन्न किसिमका बहुमूल्य जडीबुटीहरू समेत प्रशस्त पाइन्छन् ।

तर, भौगोलिक कठिनाइ र पाखो जमिनमा गरिएको खेतीबाट वर्षभरि काम गर्दा समेत मुस्किलले तीन महिना मात्र खान पुग्ने भएपछि यहाँका अधिकांश नागरिकहरू रोजगारीको खोजीमा भारतका विभिन्न सहर र अन्य वैदेशिक गन्तव्यमा जाने प्रचलन रहेको छ । बाह्रै महिना मजदुरी गरेर पनि जीविकोपार्जनमा समस्या हुने भएपछि यहाँका बासिन्दाहरूले बाध्य भएर भारतमा मजदुरी गर्दै आफ्नो जीवन चलाउँदै आएका छन् ।

स्थानीय सरकार सञ्चालन पश्चात् नागरिकहरूलाई आफ्नै गाउँघरमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ थलारा गाउँपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ । यी तालिमहरूका माध्यमबाट सीप सिकेर धेरैजसो नागरिकहरू अहिले आत्मनिर्भर बन्न सफल भएका छन् ।

यद्यपि कतिपयले सिकेको सीपको उचित सदुपयोग गर्न नसक्दा अझै पनि भारतकै रोजगारीमा आश्रित हुनुपर्ने बाध्यता छ । यसै सीप विकास कार्यक्रम अन्तर्गत थलारा गाउँपालिका–२ थापागाउँका महिलाहरूलाई साबुन उद्योग सञ्चालनका लागि आवश्यक सीप प्रदान गरिएको छ र उनीहरूलाई आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ ।

थलारा गाउँपालिका र प्रगतिशील युवा समाजको संयुक्त सक्रियतामा यो साबुन उद्योग सञ्चालनमा ल्याइएको स्थानीय सञ्चालक पुतली देवी थापाले जानकारी दिइन् । हाल यस उद्योगबाट विभिन्न प्रकारका साबुनहरू उत्पादन गरी बजारमा ल्याउन थालिएको छ । यहाँका महिलाहरूले स्थानीय स्तरमा सहजै उपलब्ध हुने विभिन्न वनस्पति र जडीबुटीहरूको प्रयोग गरेर थरिथरिका साबुनहरू उत्पादन गर्ने गरेका हुन् ।

उद्योग सञ्चालक पुतली देवी थापाका अनुसार गाउँका सबै महिलाहरू मिलेर आफ्नै वरपर पाइने तीतेपाती, घिउकुमारी, चिउरी, अल्लोको पात, सिस्नो, चुथ्रो, कागती, टिमुर, धुपीको जरा, लालीगुराँस र धायाजस्ता कच्चा पदार्थबाट साबुन उत्पादन गर्ने गरेका छन् ।

चार–पाँच जना महिलाहरूको समूह मिलेर सञ्चालन गरिएको यस उद्योगबाट उनीहरूले आफ्नो र परिवारको घरायसी खर्चको जोहो सहजै गरिरहेका छन् । साबुन कसरी उत्पादन गर्ने र त्यसका लागि आवश्यक कच्चा पदार्थ कसरी सङ्कलन गर्ने भन्ने विषयमा लामो समयको तालिम पाएपछि मात्र यो उद्योग सञ्चालनमा ल्याएको समूहकी सदस्य पुनि देवी थापाले बताइन् ।

यद्यपि, केही कच्चा पदार्थहरू स्थानीय स्तरमा नपाइने र बाहिरबाट खरिद गर्नु पर्ने भएका कारण समयमा सामग्री उपलब्ध नहुँदा कहिलेकाहीँ उत्पादनमा समस्या आउने उनीहरूको गुनासो छ । बाहिरका कम्पनीबाट उत्पादित साबुनहरूको तुलनामा स्थानीय कच्चा पदार्थबाट बनेका यी साबुनहरू स्वास्थ्यका लागि निकै प्रभावकारी र उपयोगी रहेको अनुभव विर्मा देवी थापाको छ ।

यस उद्योगबाट उत्पादित नुहाउने साबुनले छालाको चाया, पोतो र डन्डीफोर निको पार्नुका साथै, छालालाई चम्किलो र नरम बनाउने दाबी उद्यमीहरूको छ । त्यसैगरी, सिस्नोको साबुनले शरीर चिलाउने एलर्जी निको पार्ने, चिउरीको साबुनले हाड जोर्नीको दुखाइ कम गर्ने र चुथ्रोको साबुनले जन्डिस हुनबाट जोगाउन मद्दत गर्ने बताइएको छ ।

यस्तै, तीतेपातीको साबुनले शरीरका फोका–खटिरा हटाउने र खरिढुङ्गाको साबुनले दागहरू मेटाउन सहयोग पुर्‍याउने भएकाले एक पटक प्रयोग गर्ने ग्राहकले बारम्बार यही साबुनको माग गर्ने गरेका छन् । लुगा धुने र नुहाउने गरी दुवै प्रकारका साबुन उत्पादन गर्दै आएका महिलाहरूले प्रतिगोटा २० देखि ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

उद्योग सञ्चालनका लागि थलारा गाउँपालिकाले आर्थिक सहयोग गर्नुका साथै प्रगतिशील युवा समाज र घरेलु तथा साना उद्योग कार्यालयले मेसिनरी औजारहरू अनुदानमा उपलब्ध गराएका छन् । हाल दैनिक एक सयभन्दा बढी साबुन उत्पादन हुने गरेको छ, जसलाई जिल्ला भित्र र बाहिरका सभा, सम्मेलन तथा मेला–महोत्सवहरूमा प्रदर्शन र बिक्री गरिँदै आएको छ ।

उद्योगबाट मासिक न्यूनतम १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको भए पनि प्याकेजिङ स्तरीय नहुँदा र पर्याप्त प्रचारप्रसार हुन नसक्दा बजार विस्तारमा चुनौती देखिएको छ । विर्मा थापाका अनुसार यदि पूरै समय दिएर काम गर्ने हो भने आम्दानी अझै बढाउन सकिने सम्भावना छ ।

थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्यायले पनि बाहिरी कम्पनीका साबुनभन्दा यहाँ उत्पादित वस्तु निकै गुणस्तरीय रहेको बताउँदै यसको प्रवर्द्धनका लागि पालिकाले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस उद्योगलाई थप प्रभावकारी बनाउन जिल्लाका ठुला व्यवसायी र उद्योग वाणिज्य सङ्घको सहयोग आवश्यक रहेकोमा जोड दिँदै बझाङ्गी जनताले आफ्नै ठाउँको उत्पादन प्रयोग गर्नुपर्ने पाध्यायको भनाइ छ ।


Facebook Comments