जेलबाट छुटेपछि रविले भने– 'सबैको हिसाब गर्नु छ'
मेयरसाप डेस्क
|
२०८२ पुष ४ गते २०:५१
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूले न्याय पाइनसकेको बताएका छन् । जिल्ला अदालत रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ समर्थकलाई सम्बोधन गर्दै उनले लडाइँ बाँकी नै रहेको बताए ।
उनले भने, ‘यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरेको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नु छ । हिसाब मिलाएपछि लामो बोलौँला । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी छ । मैले धेरै बोल्न बाँकी छ ।’
उनले आफूलाई साथ दिन सबैलाई धन्यवाद दिएका छन्। उनले भने, ‘सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद दिन्छु।’ उनले चाँडै धेरै कुरा बोल्ने बताएका छन्। उनले भने, ‘आजलाई यत्ति, धेरै बोल्ने दिन आउँदै छ।’
रविले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी बुझाएका थिए । जिल्लाले त्यसरी छाड्न नमिल्ने बताउँदै अस्वीकार गरेको थियो । त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।
आदेशअनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको बिगोवापतको दुई करोड ७४ लाख ८४ हजार र एक करोड धरौटी गरी तीन करोड ७४ लाख ८४ हजार प्रभु बैंकमा जमानत बुझाएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए । पछि फैसला हुँदा धरौटी र बिगोवापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा स्वीकार गर्नुपर्ने जनाइएको छ ।
विसं २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यस विरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए । उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो । उनले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उनलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको रु ५५ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोग छ ।
रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।
Facebook Comments