‘दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता’ को तयारी सुरु
मेयरसाप डेस्क
|
२०८२ पुष ५ गते १९:३०
काठमाडौं । काठमाडौंमा आगामी जेठमा हुने ‘दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता’ को तयारी सुरु भएको छ । काठमाडौं महानगरपालिका–२२ को आयोजनामा जेठ २९ र ३० गते हुने उक्त प्रतियोगिताको तयारी सुरु भएको आज यहाँ आयोजित प्रतियोगितामा जानकारी दिइयो । प्रतियोगितामा पुरुषतर्फ छ तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थले जानकारी दिए।
स्पोर्टस फिजिक्सतर्फ १७० सेमी भन्दामाथि तथा उक्त समूहसम्म दुई विधामा प्रतियोगीबीच भिडन्त हुनेछ । प्रतियोगितामा यस पटक महिलातर्फ स्पोर्ट फिजिक्सअन्तर्गत खुला प्रतिस्पर्धा गराइने कायस्थले बताए। प्रतियोगिताको मूल नारा ‘व्यायाम गरौँ, स्वास्थ्य हौँ: स्वास्थ्यका लागि व्यायाम’ भन्ने तय गरिएको छ । प्रत्येक तौल समूहका विजेताले सबै प्रतिस्पर्धामा खेल्न पाउने व्यवस्था मिलाइएको पनि पूर्वअतिरिक्त महानिरीक्षकसमेत रहनुभएका उपाध्यक्ष कायस्थले बताए।
सबै प्रतिस्पर्धाका विजेतालाई ‘दोस्रो मिस्टर महानगर उपाधि’सहित नगद रु पाँच लाख, ट्रफि र ब्यानेट प्रदान गरिने छ । प्रतियोगितामा काठमाडौँ महानगरपालीकाभित्र बसोबास गर्ने नागरिकलाई मात्र सहभागी गराइने जनाइएको छ ।
प्रत्येक खेल समूहबाट प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीलाई पदकसहित क्रमशः रु एक लाख, रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद प्रदान गरिनेछ ।
यस्तै, स्पोर्ट फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा पहिलोदेखि पाँचौ स्थानसम्म हासिल गर्ने प्रतियोगीलाइ क्रमशः रु एक लाख २५ हजार, रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिने वडाध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए।
प्रतियोगितामा करिब दुई सय क्लबबाट छनौट भइ आउने १०० जना खेलाडीबीच प्रतिस्पर्धा हुने महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताका लागि महासङ्घ र वडा नं २२ कार्यालयले रु ४५ लाख खर्च गर्न पूर्वानुमान गरेका छन् । वडाध्यक्ष महर्जनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारसँगै खेलकुद विधालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले भने, “वडाले सडकमा जलेको बिजुलीको चिम फेर्ने मात्र नभइ खेल मैदान र व्यायामका लागि बजेट छुट्याएको छ । खेलकुदले मानिसलाई सुन्दर, स्वास्थ्य र बनाउँछ । यसर्थ, खेलकुदमा जोड दिँदै आएको छौँ, त्यसैअन्तर्गत यो प्रतियोगिता हुँदैछ । त्यसको तयारीका लागि हामी जुटिसकेका छौँ ।”
पत्रकार सम्मेलनमा शारीरिक सुगठन विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र निर्णायक सहभागी थिए।
Facebook Comments