पाटन नगरपालिकाले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने
एक लाख बजेट विनियोजन
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १३:४७
बैतडी । एचआइभी सङ्क्रमितलाई पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ । नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। नगर क्षेत्रभित्र हाल ३६ एचआइभी सङ्क्रमित छन् । सो बजेटबाट सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराइने उनले बताए ।
“आर्थिक वर्ष २०७९/८० देखि एचआइभी संक्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ”, उनले भने, “यसैको निरन्तरताका लागि हामीले चालु आवमा पनि रु एक लाख विनियोजन गरेका छौं ।”
आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्त रु ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो । गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले नगरपालिकाले उनीहरुलाई पोषण खर्च उपलब्ध गराउन लागेको नगरप्रमुख गौरीसिंह रावलले बताए।
Facebook Comments