भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा सुरु
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १६:३३
सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ।
टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि हो ।
टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ।
भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ।
Facebook Comments