रेडपाण्डा म्याराथनः रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनमा ‘ब्रेक थ्रु’
इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलसँगै समग्र इलामको प्रचार
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १८:१६
सुजन तिमल्सिना
इलाम। सदरमुकाम इलाम बजारको चोकबाट सन्दकपुरको डाँडाको मानवबस्तीसम्म ४४ दशमलव २ किलोमिटर छ । नेपालको इलाम र भारत पश्चिम बंगालको अग्लो शिखर सन्दकपुर डाँडाको शिखर ३६ सय ३६ मिटरमा पर्छ । हिउँदको चिसो बढेपनि पुष १ गते बिहान ७ बजेनै महाभारतको अग्लो शिखर आफ्नो पैतालाबाट चुम्न धावकहरु इलाम बजारमा भेला भएका थिए ।
बिहान ७ बजे नै शुरु हुने दौड प्रतियोगितामा नेपाल र भारतका धावकहरुको बाक्लो उपस्थिति थियो । सन्दकपुुरमा भारतको कलकत्ताबाट पर्यटकको ओइरो नै लाग्छ । पछिल्ला दिनमा नेपालीबाटो भएर भारतीयसँगै नेपाली पर्यटकहरु सन्दकपुर पुग्नेको संख्या बढ्दो छ ।

३६ सय ३६ मिटरमा अवस्थित भएकाले सहर बजार र तराई क्षेत्रका पर्यटकहरुले गाडीमै यात्रा गर्दा पनि धेरै टाढा भएको अनुभव गर्छन् । तर रेडपाण्डा म्याराथनमा सहभागि धावकले गाडिबाट भन्दा छिटो चुचुरो चुम्न सफल भएपछि ‘सन्दकपुर’ पैदलबाटै पुग्न सकिने पुष्टि भएको हो ।
इलाम बजारबाट सन्दकपुर डाँडा गाडीमा साढे तीन घण्टामा पुग्न सकिन्छ । ट्याक्सी चालक टिका गुरुङ्ग भन्छन्, ‘पर्यटक घुमाएर सन्दकपुरबाट फर्किदा टाढा रहेछ भन्ने सुन्छौं तर मान्छे म्याराथन प्रतियोगिताले हिँडेरै पुग्न सकिने राम्रो उदाहरण हो । तराई–पहाड जहाँपनि सडक विस्तारले पैदल हिड्ने चलन अहिले छैन । रेडपाण्डा म्याराथनले अहिलेको युवा जमातलाई हिँडेरै पुगिन्छ भन्ने राम्रो सन्देश दिएको छ । रेडपाण्डा म्याराथनमा खुला पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका थिए ।

उनले ४४ दशमलव २ किलोमिटर दूरी ४ घण्टा १२ मिनेटमानै पार गरेका थिए । ३ हजार ६ सय १० मिटर उचाइको सन्दकपुर पुगेपछि पदयात्रा गर्न चाहनेका लागि आत्मबल बढेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले बताए ।
‘समग्र इलामको पर्यटन प्रवद्र्धनमा रेडपाण्डा म्याराथनले सकारात्मक सुचना प्रभाव गरेको छ,’ पौडेल भन्छन्, ‘आम्मामा टाढा रहेछ भन्ने भ्रम हटेको छ ।’
रेडपाण्डा म्याराथनमा चार घण्टा १३ मिनेट ५९ सेकेण्ड निर्धारित दूरी पार गर्दै पुरुषतर्फ सेनाकै करण रावल दोस्रो भए । कर्ण बहादुर रोक्काले ४ घण्टा १९ मिनट ३८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । चौथो श्रीकास राई भए उनले ४ घण्टा २५ सेकेण्ड ३३ मिनटमा निर्धारित दुरी पार गरेका थिए ।
सुविधाको उपभोग गर्ने नेपाली नागरिकमा पनि सन्दकपुर धेरै टाढा पर्छ भन्ने थियो तर म्याराथनले पैदल नै यात्रा गर्न सकिने साहासिक पर्यटकीय गन्तव्य भएको पर्यटनकर्मी केशवकुमार द्यौरालीले बताए ।

उनी भन्छन्, ‘म्याराथन प्रतियोगिताले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलसँगै इलामको समग्र पर्यटकीय स्थलको प्रचार पुग्नेछ।’ चिसो मौसममा भएको दौड प्रतियोगिताले स्वास्थ्य पर्यटक प्रवद्र्धनका लागि सहयोग पुग्ने द्यौरालीले बताए ।
इलाम बजारबाट सन्दकपुरसम्म दौड भएपनि प्रतियोगितामा आउने धावकहरु इलामको कन्याम, अन्तु, सानी पाथीभरा हाँसपोखरी हुँदै आएकाले उनीहरुबाट समग्र इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । सीमा क्षेत्रमा पर्ने कालपोखरी सन्दकपुर क्षेत्रमा क्रसबोर्डर पर्यटनको पनि विकास हुने द्यौरालीले बताए ।
इलाम नगरपालिका प्रमुख केदार थापाले म्याराथन प्रतियोगिताले रेडपाण्डाको महत्वसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ‘विश्वभरका पर्यटकहरुलाई रेडपाण्डाले आकर्षित गरिरहेको अवस्थामा तेस्रो मुलकका पर्यटक इलाम आउन प्रतियोगितामार्फत प्रचारप्रसार भएको छ’, उनले भने ।
म्याराथन प्रतियोगितालाई निरन्तरता दिन सन्दकपुर गाउँपालिका र रेडपाण्डा नेटवर्कसँग सहकार्य गर्ने नगर प्रमुख थापाले बताए ।
१ हजार २ सय २० मिटरको इलाम बजारबाट सुरु भएको म्याराथनमा खुला महिलातर्फ निर्मला राई प्रथम भइन् ।
उनले ५ घण्टा ४० मिनेट ३६ सेकेण्ड निर्धारित सीमा पार गरिन् । ५ घण्टा ४० मिनेट ३९ सेकेण्डमा निश्चित दुरी पार गर्दै सुनसरी रोकाय दोस्रो भइन् । महिलातर्फ तेस्रो स्थान कल्पना बुढा भइन् । उनले ५ घण्टा ४० मिनट ५७ सेकेण्डमा दुरी पार गरिन् । ५ घण्टा ४४ मिनट २७ सेकेण्डमा दुरी पार गर्दै राज्यलक्ष्मी शाक्य चौथो भइन् ।
म्याराथन प्रतियोगितामा खुल्ला, महिला र स्थानीय गरि तीन विधामा धावकहरुलाई दौडाइएको थियो । प्रतियोगितामा स्थानीय विधाको प्रतिस्पर्धाले इलामबासीमा स्वास्थ्यका लागि दौडिनुपर्छ भन्ने सन्देश दिएको सन्दकपुर गाउँपालिका अध्यक्ष हरि लुङ्गेली मगरले बताए ।
रेडपाण्डा नेटवर्क, दीप ज्योति युवा क्लब,पाँचथर, प्ले फर नेचर, सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका र नेपाली सेनाको सहयोगमा रेडपाण्डा म्याराथनको आयोजना भएको थियो ।
‘जंगल बचाऔँ, जंगलमा दौडौँ’ भन्ने मुल नाराका साथ आयोजना भएको म्याराथनले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणमा सचेतना फैलाउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको सन्दकपुर गाउँपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका सभापति सनम राईले बताए ।
‘हाम्रो गाउँपालिका भित्रको उच्च पहाडी क्षेत्रका सबै वनमा रेडपाण्डाको बसोबास भएकाले संरक्षणसँगै पर्यटक तान्ने माध्यम बनेका छ,’ उनले भने, ‘हामीले रेडपाण्डा सरक्षणसँगै पर्यटकलाई जंगल सफारी गरि आयआर्जनको माध्यम बनाएका छौँ।’
‘रेडपाण्डाको संरक्षणलाई प्राथमिकता दिन वडा नम्बर १ को माईपोखरीबाट वडा नम्बर ५ को जौबारी जोड्ने पदमार्गलाई रेडपाण्डा पदमार्ग नामाकरण गरि पदमार्गमा आधारित ‘रेडपाण्डा महोत्सव’ पनि आयोजना गर्दै आएका छौँ,’उनले भने ।
म्याराथनको खुला पुरुष तथा महिला प्रथम, द्वितीय, तृतिय र चौथो हुनेले क्रमश एक लाख ५० हजार, एक लाख, तृतियले ५० हजार र सान्त्वाना विजेताले ३० हजार पुरस्कार हात परेका थिए ।
म्याराथनमा सहभागि भएर महिलातर्फ प्रथम भएकी धावक निर्मला राईले भनिन्, ‘इलाम आउने मेरो सपना थियो त्यो पूरा भएको छ । रेडपाण्डा जोगाउन मैले १२ सय मिटरदेखि ३६ सय ३६ मिटरमा दौडन पाउँदा अत्याधिक खुशी लागेको छ।’ यहाँको प्राकृतिक सुन्दरताको बखान नै गर्न नसकिने भएकाले सबैलाई इलाम अनि सन्दकपुर जान अनुरोध गर्ने उनले बताइन् ।
म्याराथनको स्थानीयतर्फ विशाल राई प्रथम भए । उनले ४ घण्टा ४३ मिनेटमा निर्धारित दुरी पार गरे । ४ घण्टा ४९ मिनट १८ सेकेण्डमा दुरी पार गर्दै राजेन्द्र लिम्बू दोस्रो भए । स्थानीयतर्फ रेशम लिम्बू तेस्रो भए । उनले ४ घण्टा ५३ मिनट ५७ सकेन्डमा निर्धारित दुरी पार गरेका थिए । ५ घण्टा ३६ मिनट १ सेकेण्डमा निश्चित दुरी पार गर्दै टंक आले मगर चौंथो भए ।
स्थानीय प्रथम, द्वितिय, तृतिय र चौंथोले क्रमश २५ हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । धावकलाई पुरस्कार विरतण गर्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले सन्दकपुर सुनको अण्डा झैँ भएकाले सबैतिर प्रचारप्रसार गरिदिन धावकहरुमा अनुरोध गरे । ‘मैले विश्वका धेरै देश डुलेको छु, तर हाम्रो देश जस्तो कहिँ पाएको छैन्,’अध्यक्ष गुरुङ्ग भन्छन्,‘हाम्रो देशको इलाम जिल्ला र जिल्ला भित्रको सन्दकपुुर गाउँपालिकाको जनप्रतिधि भएर सेवा गर्न पाउँदा गर्व लागेको छ ।’
तत्कालिन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रेडपाण्डा म्याराथनले पर्यटन प्रवद्र्धनसँगै वातावरण जोगाउन समुदायमा जागरण नै ल्याएको बताइन् । इलाम बजारबाट सन्दकपुर जोड्ने दुई वटा सडक छन् । दुई सडकमध्ये एक कोशी प्रदेश सरकार र अर्को संघीय सरकारले निर्माण गर्दै आएको छ । इलाम बजार बिब्ल्याँटे माईपोखरी कालपोखरी सन्दकपुर सडक संघीय सरकारले स्तरोन्नतिको काम हुँदै आएको हो ।
स्तरोन्नति हुने यो सडकमा संघीय सरकारको ५० करोड खर्च हुनेछ । अर्को सडक बिब्ल्याँटे सुलुबुङ माबु कालपोखरी हो । यो सडको २५ किलोमिटर सडक कालोपत्रेको ठेक्का कोशी प्रदेश सरकारबाट हुँदै आएको छ । जसमध्ये साढे १२ किलोमिटर कालोपत्रे भइसेको छ । जुन निर्माण भएपछि अब सन्दकपुर झनै नजिक बन्नेछ ।
सन्दकपुर गाउँपालिकामा लोपोन्मुख वन्यजन्तु रेड पाण्डाको बासस्थान छ । यहाँ संरक्षणको काम र संरक्षणका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न रेडपाण्डा नेटवर्कले काम गर्दै आएको छ । संरक्षणको अभियानलाई अझ सहयोग पुर्याउन म्याराथन सञ्चालन गरेको रेड पाण्डा नेटवर्क अन्तर्गत दिपज्योती युवा क्लबका कार्यक्रमका संयोजक राम रिमालले जानकारी गराए । प्ले फर नेचर र रेड पाण्डा नेटवर्कसँगै स्थानीय तहको सहयोग राम्रो भएकाले म्याराथन प्रतियोगिता सफल भएको उनले बताए ।
प्रतियोगिताको दुरी ४४ दशमलव २ किलोमिटर निर्धारण गरिएपछि गाडिमा पुग्ने समयमा झैँ धावक पुगेकाले सन्दकपुर अब पदयात्राबाटै पुग्न सकिने सन्देश भएको उनले बताए । रेडपाण्डा संरक्षणसँगै पर्यटन प्रवद्र्धन, अनुसन्धान, जीविकोपार्जन र शैक्षिक अभियानलाई समेत यस म्याराथन मार्फत जोड्ने उद्देश्य लिएको प्रतियोगिता सञ्चालन गरिएको दिपज्योती क्लब पाँचथरका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए ।
गत वर्ष ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथनको निरन्तरताका रुपमा यस वर्ष इलाममा प्रतियोगिता आयोजना गरिएको उनले बताए । रेडपाण्डा नेटवर्कका परियोजना प्रबन्धक सोनाम टासी लामाले खेलमार्फत संरक्षण सन्देश प्रवाह गर्न आयोजना भएको म्याराथन प्रतियोगिताले समूदायलाई रेडपाण्डा संरक्षणमा थप जागरुक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘रेडपाण्डा म्याराथनको स्थानीय तहले वार्षिक कार्यक्रम बनाएमा रेडपाण्डा नेटवर्क सहयोग गर्न तयार रहेका छौँ ।’
Facebook Comments