‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होइन’- प्रम कार्की
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते २०:१८
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको बताएकी छन् ।
सोमबार बसेको सर्वदलिय बैठकलाई सम्बोधन गर्दै उनले जेनजीको रगतमा यशो आराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘यहा कसले कस्लाई के दोष लगाउने, हामी अचानो त होइन नि हिजो के त्रुटि भए, जेको परिणाम २३ र २४ को घटना भयो त्यो आवेगलाई हामीले भोगिरहेका छौ । आज हामी आलोचनाको पाटो जेनजी र राजनीतिक पार्टी दुवैबाट भएका छौं । त्यसैले हामी अचानो त होइनौं । तर जुन किसिमको आक्षेप हामी खेपिरहेका छौं, त्यसको लागि त तयार छौं, किनभने त्यो मुलुकको लागि हो । यो देशमा जन्मेर यति वर्ष नुन खाएपछि देशको लागि केही गर्नुपर्छ भन्ने हाम्रो विचारमा छ । हामी जेनजीको रगतमा यशोआराम गर्न आएको होइन । हामीले गरेको पछि छैन । हिजोको दलहरुले जसरी रमाइलो गरेका थिए भने आज हामीले के गरिरहेका छौं, त्यो मूल्यांकन गर्नु ।’
यस्तै, उनले सबैभन्दा महान भनेको जनता र जनताको सेवा राजनीतिक दलहरुले गर्नुपर्ने भन्दै जनताको अहिलेको माग के हो त्यो बुझ्न जरुरी रहेको बताइन् । उनले भनिन्, ‘यहाँ हामी न कोही वादी छौं न प्रतिवादी छौं । आफ्नो चित्त नबुझेको कुरा राख्नु आफ्नो कुरा हो, कुन दललाई के कुरामा चित्त बुझेको हुँदैन । तर अखिरमा यो देशको सबैथोक भनेको जनता हो । कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन वा केही भयो भने त्यसको नकारात्मक असर जनतालाई दिनु हुँदैन । किनभने सबैभन्दा महान भनेको जनता हो, राजनीतिक दल भनेको दोस्रो कुरा हो । पहिलो कुरा भनेको जनताको सेवा गर्न बसेको हो, जनताको अहिलेको माग के हो त्यो बुझ्नु पर्छ ।’
अहिलेको एउटा चुनौती भनेको युवा वर्गलाई सबैभन्दा अगाडि कसरी ल्याउने र कसरी मुलुकको सत्ता शासन अघि बढाउने भन्ने नै रहेको पनि उनको भनाई छ । उनले एक दुई वटा दलबाहेक निर्वाचन हुनु हुँदैन भन्ने कसैको पनि विचार नरहेको पनि बताइन ।
Facebook Comments