राजनीतिक गतिविधि तीव्र बनाउँदै रवि, बालेनसँगको भेटमा के भयो छलफल ?

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते १०:४६
Image of https://mayorsap.com/storage/photos/shares/untitled-design_18.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भेटवार्ता सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

सोमबार राति कमलपोखरीमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको थियो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए । 

यो भेटको प्रबन्ध मिलाएका असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको छ । उनले उनीहरूबीचको वार्ता सुखद् भएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन–दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई !’

सोमबार साँझ करिब ७ बजेदेखि सुरु भएको वार्ता राति करिब डेढ बजेसम्म चलेको थियो। उनीहरूबीच सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बुझिएको छ। ६ घण्टाको बसाईमा उनीहरुबीच सामूहिक र एक्ला–एक्लै पनि वार्ता भएको बताइएको छ । 

कारागारबाट छुटेपछि लामिछानेले राजनीतिक गतिविधि तीव्र बनाउँदै लगेका छन्। शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता गरे । आइतबार प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी टोलीसँग छलफल गरे । यसबीचमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग दुईपटक भेटवार्ता गरिसकेका छन् ।

   


Facebook Comments