बाजुराका मल्लले पाए अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक

User Image गोविन्द तिमिल्सेना | २०८२ पुष ८ गते ११:५१
Image of https://mayorsap.com/storage/photos/shares/saurav.jfif

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका– ५ का १० वर्षीय सौरव मल्लले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । बाजुराको दुर्गम भूगोलबाट उदाउँदै गरेका उनले स्वर्ण पदक जित्दै बाजुराको गौरव बढाएका छन् । काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न १५औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा सौरवले उत्कृष्ट खेल कौशल, अनुशासन र आत्मविश्वास प्रस्तुत गर्दै स्वर्ण पदक कब्जा सुरक्षित गरेका हुन्। 

उक्त प्रतियोगितामा सहभागी चन्द्रागिरी तेक्वान्दो डोजाङ्गले समग्रतामा ९ स्वर्ण, ७ रजत र ३ कास्य पदक जित्दै उत्कृष्ट टिमको रूपमा आफ्नो उपस्थिति जमाएको थियो। सोही डोजाङ्गबाट प्रतिस्पर्धा गरेका सौरव मल्लको प्रदर्शन भने विशेष रूपमा प्रशंसनीय रहेको थियो। 

सानो उमेरमै उच्च स्तरको प्रतियोगितामा निडर भएर खेल्दै जित हात पार्नु उनका लागि ठूलो उपलब्धि बनेको छ। हाल काठमाडौंको चन्द्रागिरीमा बसोबास गर्दै आएका सौरव नियमित अभ्यास र कडा अनुशासनका कारण सफलता हासिल गर्न सफल भएका हुन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्दा आफूलाई निकै खुसी लागेको सौरवका बुबा हिमशिखर मल्लले बताए । उनले भने,“ छोराले आज यो सफलता प्राप्त गर्दा निकै खुसी छु। सानै उमेरमा खेलप्रति उसको गहिरो रुचि देखिन्थ्यो। पढाई संगै खेलमा अघि बढाउने सोच थियो। उक्त सोच आज पूरा भएको छ।”

 


Facebook Comments