त्रिबेणी नगरपालिकाकाे १८ औँ अधिवेशन सुरू
गोविन्द तिमिल्सेना
|
२०८२ पुष ९ गते १९:२१
बाजुरा। बाजुराकाे त्रिबेणी नगरपालिकाकाे नगर सभा तथा १८औँ नगर अधिवेशन सुरू भएको छ। बुधबार औंपचारिक रुपमा नगरपालिकाकाे सभाहलमा नगर सभा तथा १८ औं अधिवेशन सुरू भएको हाे।
‘गुणस्तरिय शिक्षा,सवल पूर्वाधार र समावेशी सेवा-समृद्ध र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य’ भन्ने मुल नाराका साथ नगरसभा सुरू भएकाे हाे।
नगरको समग्र विकास, सुशासन र जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित नगरसभा तथा अधिवेशनको आयोजना गरिएको नगर उप-प्रमुख कमला जाेशी न्याैपानेले जानकारी दिएकी छन्।
उनका अनुसार,अधिवेशनमा नगरको सुशासन,सेवा प्रवाह, आर्थिक अनुशासन, सामाजिक संरक्षण तथा वातावरणीय दिगोपनलाई मजबुत बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण विधेयकहरू नगरसभा समक्ष पेश गरिएकाे छ।
प्रस्तुत विधेयकमा सहकारी ऐन–२०८२, कृषि व्यवसाय प्रवर्द्धन ऐन–२०७४ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२, जनस्वास्थ्य सम्बन्धी विधेयक–२०८२, उपभोक्ता हक हित संरक्षण सम्बन्धी विधेयक–२०८२, प्रशासनिक कार्यविधि सम्बन्धी विधेयक–२०८२ पेश गरिएका छन्।
त्यस्तै वनसम्पदा संरक्षण सम्बन्धी विधेयक २०८२ उद्योग तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी विधेयक–२०८२, जलस्रोत सम्बन्धी विधेयक–२०८२, आकस्मिक कोष सम्बन्धी विधेयक–२०८२, भाषाकला संरक्षण सम्बन्धी बनेको बिधेयक–२०८२,अनुगमन तथा मुल्याङ्कन सम्बन्धी बनेको विधेयक २०८२ रहेका छन्।
साथै स्थानीय एफ.एम. सञ्चालन सम्बन्धी विधेयक २०८२ खानेपानी तथा सरसफाई ऐन २०७९ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२ लगायत अन्य बिधेयकहरु सभामा पेश गरिएको छन्। २०८२ पौष १४ गते पुन: सभा संञ्चालन हुने गरि सभा स्थगित समेत गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेका विधेयकहरूले नगरको आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउँदै दिगो विकासको आधार तयार गर्ने विश्वास लगिएकाे नगर प्रवक्ता मीन बहादुर भण्डारीले बताए ।
नगरप्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा संञ्चालन भएको अधिवेशनमा नगर उपप्रमुख कमला न्यौपाने, नगर प्रवक्ता मीन बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरसभा सदस्यहरूको उल्लेख सहभागिता रहेको थियो।
Facebook Comments