क्रिसमसले राष्ट्रिय एकता र भाइचारा सुदृढ बनाओस् : प्रधानमन्त्री कार्की
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १२:०४
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले क्रिसमसलाई प्रेम, शान्ति र करुणाको पर्वका रूपमा चित्रण गरेकी हुन् । उनले यस पर्वले नेपाली समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
‘नेपाल विविध धर्म, भाषा र संस्कृतिको संगम हो,’ सन्देशमा भनिएको छ, ‘क्रिसमसजस्ता पर्वले हाम्रो विविधताबीचको राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन् ।’
प्रधानमन्त्रीले यस पावन अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मानवताका साझा मूल्यहरूलाई अझ बलियो बनाउन आह्वान समेत गरिन् ।
Facebook Comments