कृषिलाई पर्यटनसँग जोड्न पोखरा महानगरद्वारा ‘सुन्तला महोत्सव’ को आयोजना
महोत्सवबाट सुन्तला उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै बजारीकरणमा सहयोग पुग्ने अपेक्षा
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते ०७:३४
कास्की । वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा बिहीबार पोखरा महानगरपालिका–२१ कृष्तीमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।
उत्पादक र उपभोक्तालाई एक ठाउँमा उपस्थित गराउँदै सुन्तलाखेतीप्रतिको आकर्षण बढाउन प्रेतिर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका धनराज आचार्यले महानगरपालिकाको एक वडा÷एक उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा स्थापित वडा नं २१ का किसानलाई लक्षित गर्दै पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको बताए। महोत्सवका कारण किसान आफ्नै बगैँचामा उत्पादन गरेका प्राङ्गारिक सुन्तला एकैथलोमा बिक्री गर्न पाउने व्यवस्थाबाट लाभान्वित बनेको उनले बताए ।
नेपालको राष्ट्रिय फल सुन्तलालाई ‘पोखराको सुन्तला’का रूपमा स्थापित गर्न वडा नं २१, २२, १६, २३, २८ र ३३ को महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले यस वर्ष पोखरा महानगर क्षेत्रभित्र करिब रु १० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान गरिएको बताए।
कृषिलाई पर्यटनसँग जोड्दै यसप्रतिको आकर्षण बढाउनका लागि महोत्सव गरिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। महोत्सवले सुन्तला उत्पादनलाई प्रवद्र्धन गर्नुुका साथै बजारीकरणमा पनि सहयोग पुग्ने वडा नं २१ का अध्यक्ष दीपक सुवेदीले बताए।
महानगरपालिकाले गत आर्थिक वर्षदेखि किसानलाई अनुदानमा असिना छेक्ने जाली उपलब्ध गराउन थालेको छ । अघिल्लो वर्ष कृषक समूहलाई ७० प्रतिशत अनुदान र व्यक्तिगत कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त सहयोग उपलब्ध गराइएको थियो ।
Facebook Comments