हुम्लामा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते ०८:२४
हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए।
फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।
आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आंकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए।
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान २ः३० बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए । अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरीचौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । “सर्केगाड प्रहरीचौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण यकिन गर्न सकिएको छैन”, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले भने, “घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भइरहेको छ भने अहिले आगो पनि नियन्त्रणमा ल्याइएको छ ।”
घटनास्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सिनालगायतको टोली उद्धार र राहत सामग्रीसहित पुगेको बताइएको छ ।
घाइतेलाई अस्पतालमा ल्याउनेबित्तिकै इर्मेजेन्सी उपचार गरिएको जानकारी दिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले लैबाको शरीर ५४ प्रतिशत जलेको जानकारी दिए ।
Facebook Comments