ट्रक र बस ठोक्किँदा आगलागी, ९ यात्रुको जलेर मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते ११:०९
एजेन्सी । भारतको कर्नाटक राज्यमा बिहीबार भएको एक दर्दनाक सडक दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
राजधानी बेंगलुरुबाट करिब २०३ किलोमिटर टाढा चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रमा एउटा निजी स्लिपर बस र ट्रक एकापसमा ठोक्किँदा उक्त हताहती भएको हो ।
प्रहरीका अनुसार तीव्र गतिमा विपरीत दिशाबाट आइरहेको ट्रकले अनियन्त्रित भई सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो । ठक्करलगत्तै बसमा भीषण आगो सल्किएको थियो ।
आगोको लप्काले केही बेरमै पूरै बसलाई चपेटामा लिएका कारण यात्रुहरूले बाहिर निस्कने मौका समेत नपाएको बताइएको छ ।
चालक र सहचालकसहित कुल ३२ जना सवार उक्त बसमा रहेका अन्य धेरै यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा सडकको दुरवस्था, ओभरलोडिङ र चालकको असावधानीका कारण यस्ता घातक दुर्घटनाहरू चुनौतीपूर्ण समस्याका रूपमा रहँदै आएका छन् ।
Facebook Comments